• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हुलाकी सडकमा ध्यान देऊ

तराई मधेशमा मेचीदेखि महाकालीसम्म आवागमनको पुरानो राजमार्ग हुलाकी सडक यतिबेला बेहाल अवस्थामा छ । यस सडकको स्तरोन्नति भएमा मधेशको विकासको ढोका खुल्नेमा कुनै आशंका छैन । मधेशका जनताको भावनासित गहिरो रुपमा जोडिएको भएपनि यो सडकको अवस्था सुधारकालागि राज्यपक्षको कहिल्यै ध्यान पुगेन । फलस्वरुप यो महत्वपूर्ण पूर्वाधार पञ्चायतकालदेखि अहिलेसम्म चुनावी नारामा मात्र सिमित रहँदै आएको छ । पञ्चायती शासकले यो पुरानो सडकको अवस्था सुधार गर्नु भन्दा पनि समानान्तर रुपले पूर्व पश्चिम राजमार्ग निर्माणमा चाही ध्यान पु¥याए । तर, पुरानो भएर पनि हुलाकी राजमार्ग भने सधै उपेक्षाको शिकार बन्दै गयो । तराईका अधिकांश जिल्ला सदरमुकामसित सम्पर्क सुत्रका रुपमा जोडिएको यस सडकको अवस्थामा सुधार आए मधेशी जनताको अवस्थामा पनि सुधार आउने प्रवल सम्भावना नरहेको होइन ।
ग्रामीण भेगका कृषि उत्पादन प्रचुर मात्रामा भए पनि बाटोघाटोको अभावका कारण बजारसम्मको पहुँच नहुनु, स्वास्थ्योपचार लगायत अन्य कामकाजकालागि बाटोको अभाव, यातायतको असुविधा लगायतका कारणले समस्या व्यहोर्नु तराई मधेशका दक्षिणवर्ती क्षेत्रका वासिन्दाहरुको नियति नै बनेको छ । मधेशमा उत्तरको तुलनामा दक्षिणी भेग विकासीय दृष्टिले पछि पर्नुको एक प्रमुख कारण हुलाकी सडक सञ्चालनमा नआउनु पनि हो । सरकारले अन्यत्र सडक निर्माणकालागि बजेट छुट्याउँछ, मर्मत सम्भारकालागि पनि अन्य सडकमा राज्यकोषबाट वर्षेनी ठूलो रकम खर्च हुने गरेको छ । तर, हुलाकी सडकको स्तरोन्नतिका लागि भने बजेट नछुट्याइनु र विदेशी सहायतामा निर्माण गरिने भन्दै पन्छिने काम मात्र हुने गरेको भन्ने मधेशकै वासिन्दाको मुखबाट असन्तुष्टि सुन्न पाइन्छ । राज्य सत्ताले हुलाकी सडकको उपेक्षा गरेर मधेश तथा मधेशीको भावना बुझ्न नसकेको भन्ने आरोप नयाँ होइन । पञ्चायतकालदेखि नै उपेक्षाको शिकार बन्दै आएको हुलाकी सडकको बहुदलीय व्यवस्था र वर्तमान गणतान्त्रिक व्यवस्था समेतमा स्तरोन्नति हुन सकेको छैन ।
लोकतन्त्रमा सबै भेगका जनताले विकासको प्रतिफल पाउनु पर्छ भन्ने आम मान्यता पनि हो । तर, अहिलेसम्म जीर्ण र जर्जर अवस्थामा रहेको हुलाकी सडकलाई हेर्दा त राज्यले सबै जनताकालागि विकासको समान अवसर नदिएको पो हो कि भन्ने आशंका पैदा हुने प्रवल सम्भावना नै देखिन्छ । जनताको जीवन जीविकासित जोडिएको मुलुककै पुरानो हुलाकी सडकलाई विदेशको भरमा होइन स्वदेशी लगानीमै शिघ्र स्तरोन्नतिको व्यवस्था मिलाइनु जरुरी छ । तराईको भूमि अन्य उत्पादनको दृष्टिले उर्वर छ, तर बाटोघाटोको समस्या अझै यथावत रहेका कारण सम्भाव्यता भएर पनि पिछडिनु परेको अवस्था छ । हुलाकी सडकको निर्वाध सञ्चालनले तराईको विकास मात्र होइन सिंगो मुलुकलाई नै प्रत्यक्ष अप्रत्यक्ष रुपले फाइदा पुग्ने कुरामा कुनै दुई मत छैन । त्यसैले यसको अवस्थामा शिघ्र सुधारकालागि सरकारको ध्यानाकर्षण जरुरी छ ।