राजविराज, २१ भदौ । भदौ १ गतेदेखि सप्तरी प्रहरीले थालेको अवैध मदिरा विरुद्धको अभियानमा जिल्ला प्रहरी कार्यालय र मातहतका ४८ वटै प्रहरी इकाईहरुबाट ४१ जनासहित तीन हजार २ सय ८२ लिटर अवैध मदीरा बरामद गर्न सफल भएको छ ।
सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले दिएको जानकारी अनुसार तीन हजार २ सय ८२ लिटर अवैध मदीरा, गोल्डेन ओक ८९ बोतल, फाइटर ६० बोतल र भर्जिन १२ बोतल बरामद गरिएको छ । अभियानका क्रममा विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरी कार्वाही प्रक्रिया अगाडि बढाईएको उनले जानकारी दिए । बरामद गरिएको मदिरा सोमवारै जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको छ ।
घरेलु तथा लैंगिक हिंसा, सडक दुर्घटना, विभिन्न किसिमका झैंझगडा तथा जनस्वास्थ्यमा पर्ने गम्भिर असरहरुको कारक बनेको अवैध मदिरा र मदिराजन्य पदार्थको उत्पादन, ओसारपसार र विक्रिवितरणमा नियन्त्रण र कानुनी कार्वाही गरी सार्वजनिक सुरक्षा, अमन चैन कायम गर्ने उदेश्यले अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले समय–समयमा विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम तथा अवैध मदिरा विरुद्ध कारबाही गर्दै आएकोमा यस आर्थिक वर्षको शुरुवातदेखि यो अभियान सञ्चालन हुँदैआएको उनले बताए ।