• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको आज दोश्रो दिन हो । मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन आज निराहार व्रत बसी भगवान शिवजीको पूजा आराधना तथा नाचगान गर्ने गर्दछन् । राजधानीको पशुपतिनाथ मन्दिर लगायत देशैभरिका शिवालयहरुमा व्रतालु महिलाहरुको आज भिड लाग्ने गर्दछ । सत्य युगमा पार्वती देवीले शिवजीलाई पति पाउनकालागि व्रत बसेको कारण उनको मनोकामना पूर्ण भएको धार्मिक मान्यतानुसार हिन्दु महिलाहरुमा तीनजको व्रत बस्ने परम्परा रहिआएको छ । तीजमा अविवाहित महिलले योग्य पति तथा विवाहिताले पतिको दीर्घायू, सुस्वास्थ्य, उन्नति, प्रगति र पारिवारिक सुखशान्तिको कामनाका साथ व्रत बस्ने चलन कायम रहिआएको छ ।
मौलिकतालाई चिनाउने धरोहरका रुपमा हाम्रो मुलुक नेपालमा एक से एक सांस्कृतिक विविधता छन् । प्राकृतिक रुपमा जसरी धरातलीय विविधताले हाम्रो मुलुक धनी छ, उसैगरी यहाँका चाड पर्व र सांस्कृतिक प्रचलनले विश्वस्तमै अनुपम उदाहरण प्रस्तुत गर्दै आएका छन् । हाम्रो जातीय विविधता सँगसँगै भाषा, संस्कृति र चाडपर्वको पनि बाहूल्यता रहेको छ । परिवारिक सुख, शान्ति, सुस्वास्थ्य दीर्घायु हरेक व्यक्तिका चाहना हुन्छन् । तिनै चाहनालाई मनोकांक्षाका रुपमा लिएर त्यसको प्राप्तीकालागि भगवान शिवसित याचना गरिनु तीजको माध्यम रहेको छ । जात, सम्पदा, भाषालगायतको विविधताका बीच नेपाली नेपालीमा एकताको सूत्र बाँध्ने माध्यमका रुपमा पनि तीजको आफ्नै महत्व रहेको छ । नेपाल अधिराज्यको जनुसुकै ठाउँका वासिन्दाले मनाउने चाडपर्व हाम्रा साझा सम्पत्ति हुन् । तिनको जगेर्ना गर्न सक्दानै हामीले आफ्नो पहिचान र वैशिष्ठयलाई निरन्तरता दिन सक्दछौं । चाडपर्वका नाममा अहिले बढ्दो आधुनिकताले गर्दा यदाकदा आडम्बरको प्रदर्शन पनि हुन थालेको पाइन्छ । महँगा पोशाक, गरगहनाको प्रदर्शन अनि तीजका नाममा भव्य भोज गर्ने प्रचलन समेत बढ्न थालेको छ । हुने खाने र क्षमतावानहरुकालागि त यस्तो आडम्बर थेग्न सकिने होला ।
तर, आर्थिक अवस्था सवल नभएकाहरुका निम्ति त यो परम्परा बोझ नै बन्ने निश्चित छ । चाडपर्वको सन्देश आडम्बरको प्रदर्शन र खर्चको होडवाजी कदापि हुन सक्तैन । यसको महत्व भनेको त मानवको मनमा रहेको हुन्छ जसअनुसार आपसी सद्भाव, मेलमिलाप र पवित्र भावनाको साटासाट गरिने हुन्छ । आपसी सहिष्णुता जो मानवीय कल्याणका द्योतक यस्ता चाडपर्वहरुको महत्ता र सन्देशलाई जीवन्त राख्दै यसमा आउनसक्ने विकृतिबाट जोगाउँदै अघि बढ्न सके हाम्रा चाडपर्व कदापि बोझ हुने छैनन् र तिनको महत्ता पनि अझै बढ्दै जाने छ । तीजका अवसरमा महिलाहरु कठोर व्रत राख्ने गर्दछन् । यस्तो बेलामा सकिनसकी कठोर व्रत बस्नु भन्दा स्वास्थ्यको ख्याल पनि आवश्यक हुन्छ भन्ने कुराचाही विर्सन हुन्न ।