• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सुनसरीको धान खेतमा डिजल निस्केको दावी

चन्दन रौनियार
इनरुवा, १८ भदौ । सुनसरीको नरसिंह गाविसको धान खेतमा डिजल निस्केको स्थानीयवासिन्दाले दावी गरेका छन् ।
धान गोड्न खेत गएको बेला शुक्रबार दिउँसोदेखि जमिन मुनीबाट डिजल जस्तै तरल पदार्थ निस्किएर धान खेतको पानीमा तैरिएको देखेको जग्गा धनी मोहम्द ताहिर मन्सुरीले बताए । शुक्रवार दिउँसोदेखि नै धान खेतको जमीन मुनीबाट तेल निस्किएर धान खेतको पानीमा तैरिदै बग्दा पुरै धान खेत नै तेलैतेल भएको कारणले डिजल जस्तो तरल पदार्थ निस्कीएको दुलोमा माटो हालेर पुरिदिएको मन्सुरीले बताए ।
उक्त विषयमा जानकारी पाएपछि शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा र सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलसहितको प्रहरी अधिकृत तथा सञ्चारकर्मीको टोली उक्त स्थानमा पुगेका थिए । घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक पोषराज पोखरेलले प्रशासनले वा हामीले जाँच्ने औजार र मेसीन नभएसम्म केही भन्न नसकिने प्रतिकृया दिए । प्रहरी उपरीक्षक पोखरेलले माथिल्लो निकायमा जाहेर गर्ने तर यो यथार्थ जस्तो नलागेको समेत उनले आशंका गरे । सहायक प्रमुख जिल्ला अधिकारी चन्देश्वर पोखरेलले अनुसंन्धान नगरी केही भन्न नसकिने बताए ।
यसैबीच सुनसरीको नरसिंह गाविस–३ मा डिजल निस्किएको हल्ला चलेपछि हेर्नकालागि स्थानीयको भिड लागेको छ । नरसिंह–३ को जिराईत टोलको धान खेतमा डिजल जस्तै गनाउने तरल पदार्थ निस्किएपछि उक्त पदार्थ हेर्नका लागि हजारौंको भिड लागेको छ ।
धान गोड्न गएका मजदुरहरुले डिजल गन्हाएको र डिजल जस्तै पदार्थ देखेको कुरा बाहिर ल्याएपछि हेर्नेको भिंड लागेको हो । गाउँ नजिकै रहेको उक्त धान खेतमा पानीमाथि तेल जस्तै पदार्थ देखिएकाले स्थानीयले डिजल भएको दावी गर्दैआएका छन् । स्थानीयहरुको भिड लागेपछि सुरक्षाकर्मीहरु समेत केही घण्टा परिचालन गरिएको र सो पदार्थ तेल हो या होइन भन्ने विषयमा अन्योल रहेको बताईएको छ ।
यसैबीच स्थानीय सञ्चार माध्यमहरुले पेट्रोलियम पदार्थको संकट रहेको अवस्थामा जनताको आशा जगाउने गरी सुनसरीमा सम्भावित पेट्रोलियम पदार्थको मुल फेला परेको उल्लेख गरेको छ । नरसिंह ३ स्थित धान खेतमा जमिन मुनीबाट ठूलो भुल्काका साथ पानीमाथि तैरिने गरि पेट्रोलियम पदार्थ जस्तै तरल पदार्थ निस्किरहेको दावी गरेको छ ।
स्थानीय बेचनी खातुनको धान खेती गर्दै आएका मो.ताहिर मन्सुरीले खेतमा धान गोडने क्रममा जमिन मुनीबाट तेल निस्किएर दक्षिणतर्फ पानीले भरीएको धान खेतमा करिब २ सय मिटरसम्म बग्दैगएको देखेपछि उक्त स्थानमा तेल रहेको आशंका गरिएको छ ।