राजविराज, १६ भदौ । नेपालको पहिलो चार्टर्ड एकाउन्टेन्ट कुबेर प्रसाद शर्माले बीस लाख रुपैयाँको अक्षयकोष खडा गरी सी.ए पढ्ने एक छात्र र एक छात्रालाई वर्षेनी छात्रवृत्ति दिने व्यवस्था मिलाएका छन् ।
काठमाण्डौ उपत्यका बाहिरका पिडित वर्गका परिवारबाट आउने विद्यार्थीले सी.ए पढ्नकालागि प्रारम्भिक खर्च वापत एक मुष्ट आर्थिक सहयोग पाउने भएका हुन् । बीस लाखको व्याज आम्दानीबाट आएको रकमको पचहत्तर प्रतिशत सम्म छात्र–छात्रालाई आर्थिक सहायता दिइनेछ । बाँकी पच्चीस प्रतिशत अक्षकोषमा जम्मा हुनेछ ।
सी.ए कुबेर प्रसाद शर्मा छात्रवृत्ति कोष नामको छात्रवृत्ति प्रत्येक वर्ष नेपाल इन्सिट्च्युट् अफ चार्टर्ड एकाउन्टेन्टस अफ नेपाल, सातदोबाटो ललितपुरले प्रदान गर्ने जनाईएको छ । शर्मा सप्तरीवासी हुन् ।