राजविराज, ११ साउन । सप्तरीको रौतहट गाविसबाट गत विहीबार अपहरणमा परेका आठ वर्षिय बालक प्रहरीको सक्रियतामा मुक्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र मातहतका टोली समेतको विशेष सक्रियता भारतीय तीन जना अपहरणकारीलाई सप्तरी प्रहरीले अपहरित बालक सिकेन्द्र कुमार दासलाई मुक्त गराउन सफल भएको हो । सादा पोशाकका प्रहरी र भारतीय प्रहरीको टोलीले खोजतलासका क्रममा भारतको लौकहा जटही क्षेत्रबाट बालकलाई मुक्त गराउन सफल भएको प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका छन् ।
प्रहरीले अपहरणमा संलग्न १८ वर्षिय दिलिप कुमार दास, १६ वर्षिय जितेन्द्र कुमार दास र १५ वर्षिय शिवनारायण दासलाई अपहरणमा प्रयोग भएको मोटरसाइकल सहित नियन्त्रणमा लिएका छन् । विहीवार करिब ११ बजेको समयमा घर नजिकैको चौरमा खेलिरहेको अवस्थामा अपहरण गरी १५ लाख रुपैयाँ फिरौती माग गर्दैआएका थिए । 
लहान स्थित ग्लोबल बोर्डिङ्ग स्कूलमा अध्ययनरत बालक सिकेन्द्रको बुवा गङ्गाई दास वैदेशिक रोजगारमा रहेकोले परिवारजनसँग मोटो रकम फिरौती माग गर्दैआएको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रहरी उपरीक्षक ढकालका अनुसार अपहरणकारीले ९८२५७४२७५९ नम्वरबाट फोन गरी बालककी आमा लगायत परिवारजनलाई रकम माग गर्दैआएका थिए ।
बालक अपहरणमा प्रयोग गरिएको स४प ३९३३ नम्वर मोटरसाइकल समेत प्रहरीले बरामद गरी तीनै जनामाथि अपहरण तथा शरिर बन्धक मुद्दा चलाईएको छ । अपहरणकारीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।