• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकारहरुको हितकालागि महासंघ प्रयासरत छः अध्यक्ष डा. बिष्ट

पत्रकारहरुको हितकालागि महासंघ प्रयासरत छः अध्यक्ष डा. बिष्ट

लहान, १० साउन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकारहरुको हक हितमा ल्याइएका नीतिगत कुराहरु कार्यान्वयनकालागि महासंघ प्रयासरत रहेको बताएका छन् ।
महासंघले सोमवार सिरहाको लहानमा आयोजना गरेको पत्रकारको सुरक्षा बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा अध्यक्ष डा. बिष्टले श्रमजिवी पत्रकार ऐन साउन १ गतेदेखि लागु भईसकेकाले त्यसको सफल कार्यान्वयन लागि सबै पत्रकारहरु समेत सचेत रहन आग्रह गरे ।
महासंघकै विशेष पहलमा सरकारले सरकारी अस्पतालमा पत्रकारहरुलाई उपचार खर्चमा ५० प्रतिशत छुट दिने, पत्रकारहरुको जिवन बिमा, पत्रकारहरुको क्षमता विकासका लागि प्रशिक्षण प्रतिष्ठान गठन गर्ने लगायतका नीति पत्रकारहरुकालागि ल्याएको उनले जानकारी दिए । पत्रकार आचारसंहितालाई पालना नगरेका कारणले पनि कतिपय ठाउँमा पत्रकारहरुमाथि आक्रमणका घटनाहरु भएको भन्दै पत्रकारहरुले पत्रकार आचारसंहितालाई अनिवार्य पालना गर्न ध्यानाकर्षण गराए ।
सो कार्यक्रममा बरिष्ठ पत्रकार तथा बिश्लेषक चन्द्रकिशोर झाले राष्ट्रिय सञ्चारमाध्यमको समाचारकक्षमा रहेका सम्पादक तथा डेक्सका पत्रकारको सोचमा बहुलबादी हुन नसकेका कारण मधेशमा पत्रकारहरु बढी असुरक्षित भएको बताए । मिडियाको डेक्समा बस्नेहरुले समाजलाई राम्ररी बुझ्े पनि सोचमा बहुलबादी आएकाले मधेशका जिल्लामा कार्यरत पत्रकारहरु असुरक्षित भएको बताउँदै उनले भने ‘नेपाल पत्रकार महासंघले डेक्स र पत्रकार तथा सम्पादक र डेक्सको बीचमा अन्तरक्रिया गर्नु जरुरी छ ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शीतल महतोले सञ्चारमाध्यमको नेतृत्व तहमा सबै वर्गको पहुँच पुर्याउनेतर्फ महासंघ लागेकोले राजधानी र मोफसलका पत्रकारहरुबीचमा रहेको दुरी अगामी दिनमा कम हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोतम घिमिरेले पत्रकारहरुले पहिला आफु कसरी सुरक्षित हुनेतर्फ ध्यान दिएर मात्र अघि बढ्दा उचित हुने सुझाब दिदै पत्रकाहरुको सुरक्षामा आफू गम्भीर रहेको प्रतिवद्धता व्यक्त गरे ।
प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामतीले प्रेस काउन्सिलको निष्पक्षतामा सुधार आएको भन्दै पत्रिकाहरुको वर्गिकरणमा निष्पक्षता अपनाईने विश्वास व्यक्त गरे । मधेशका सञ्चारमाध्यमहरुको प्रवद्र्धनकालागि प्रेस काउन्सिल गम्भीर रहेको भन्दै पत्रकार आचार संहिताको पालना गरेर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
कार्यक्रममा ‘न्यूज टुडे दैनिक’का सम्पादक श्यामसुन्दर यादवले मधेश आन्दोलनका क्रममा राष्ट्रिय सञ्चारमाध्यमहरु पूर्वाग्रही चरित्र देखाएको बताए । काठमाण्डौ केन्द्रित मिडियाहरुले मधेश आन्दोलनबारे सत्यतथ्य समाचार सम्प्रेषण गर्नबाट चुकेको अवस्थामा स्थानीय एफएम, पत्रिका तथा अनलाइनहरुले मधेशका समाचारलाई प्राथमिकता दिएका कारण प्रेस काउन्सिलले स्पष्टिकरण तथा चेतावनी पत्र पठाएको कउनले प्रष्ट्याए । नेपालको पत्रकारितामा मधेशी मूलका पत्रकारहरुको संख्या एकदमै न्यून रहेको तथा भर्खर भर्खर टुसाउँदै गरेका सञ्चारमाध्यमहरुको प्रवद्र्धन गर्नुको साटो घाँटी निमोठ्ने काम भईरहेको भन्दै यसतर्फ सम्पादक यादवले ध्यानाकर्षण गराए ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख सोमनाथ घिमिरे, सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञवाली, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सिरहाका प्रहरी उपरिक्षक सुवर्ण थापामगर, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडा, महासंघका केन्द्रीय पार्षद हेमशंकर सिंह, पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादव, पत्रकार सन्तोष यादव, राजकुमार राउत लगायतकाले पत्रकारहरुको हक हितबारे मन्तव्य व्यक्त गरे । कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघका विदेशी प्रतिनीधिहरुको समेत उपस्थिति रहेको थियो ।