राजविराज, १० साउन । विगत तीन दिन यताको वर्षाले नदीहरुमा आएको बाढीको पानी सप्तरीको डेढ दर्जन गाविसका बस्तीहरुमा पसेका कारण स्थानीयवासिन्दाको जनजीवन कष्टकर बन्न पुगेको छ ।
खडक, खाँडो, महुली, चापिन, सुन्दरी, भलुवाही लगायतका खोलाहरुमा आएको बाढीको पानी बस्तीमा पस्दा घरहरु डुबानमा परी सर्वसाधारण जनताको जनजीवन कष्टकर बन्न पुगेको हो । पहाडी जिल्लाहरुमा भएको वर्षाले गर्दा नदीहरुमा बाढी आएर ठाउँठाउँमा बाँध तथा स्परहरु भत्काएर बाढीको पानी बस्तीमा पस्दा जिल्लाको करिब तीन हजार पाँच सय भन्दा बढी घर डुबानमा परेको छ ।
बाढीले गर्दा सकरपुरा, दिघवा, लौनिया, रम्पुरामल्हनियाँ, देउरी भरुवा, गोबरगाढा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठी, हनुमाननगर, कोइलाडी मधेपुरा, डेढ दर्जन भन्दा बढी गाविसको बस्तीहरुमा पानी पसेको छ । पानीका कारण ट्युवेल तथा चुलो समेत डुबानमा परेको खाना समेत पकाउन नपाई भोकै बस्नुपरेको बाढी पीडितहरुले जानकारी दिएका छन् । आँगन तथा घरमा समेत पानी पसेकोले भोकै रातभरी जाग्राम बस्नुपरेको सकरपुराका बाढीपीडित रामप्रसाद मुखियाले दुःखेसो सुनाए ।
उनका अनुसार अत्यधिक पानीका कारण बस्तीमा रहेका माटाका भित्ता भएका घरहरु ढल्न थालेको छ । फुस घरहरुमा समेत क्षतिग्रस्त भएको बताउँदै उनले भने ‘बाढीसँगै आएको सर्प, बिच्छीलगायतका विषालु जीवहरु तैरिन गर्छन्, साना नानीहरु काँखमा बोकेर राख्ने गरेका छौं ।’
जिल्लाको विभिन्न गाविस भएर बगेको घोडदह, कसहा, चापिनलगायतका नदीहरुमा आएको बाढी बस्तीमा पसेर जनजीवन कष्टकर बन्न पुगेको छ । यसका साथै बाढीले जिल्लाको करिब तीस हजार हेक्टरभन्दा बढी खेतीयोग्य जग्गा जलमग्न भएको छ । बाढीप्रभावित गाविसहरुमा सयौं बिघा धान खेत समेत कटानमा परेको जानकारी प्राप्त भएको छ । 
यस्तै जिल्लाको देउरी भरुवा गाविसको पक्की भवन समेत कटानको जोखिममा परेको छ । छेउमै रहेको पोखरी समेत कटान भएको छ । योसहित दर्जनौ माछा पोखरीहरुमा बाढीको पानी पसेर लाखौं रुपैयाँ बराबरको माछा पानीसँगै बगेको पीडितहरुले जानकारी दिएका छन् ।
जिल्लाको बिसहरिया गाविसमा खोलाको बाँध शनिवार साँझ भत्किँदा वडा नम्वर–५ स्थित पिप्राही टोलका २५ घरमा पानी पसेको स्थानीय जिबछ कुमार यादवले जानकारी दिएका छन् । करिब एक हजार बिघा धान खेत समेत डुबानमा परेको उनले बताए ।
यस्तै राजविराज नगरपालिकाको वडा नम्वर–८ मा भलुवाही नदी र वडा नम्वर १० मा खाँडो खोलाको बाढीको पानी पसेको छ । नदीको पानी बस्तीमा पसेर सर्वसाधारण जनताको जनजीवन कष्टकर बन्न पुगेको छ । 
यसैगरी जिल्लाको हनुमाननगर योगिनीमाई नगरपालिकाको २, ४, ९ र १० मा रहेका बस्तीहरु समेत डुबानमा परेको हाम्रा हनुमाननगर सम्वाददाता अजय भगतले जानकारी दिएका छन् ।
तस्विरहरु: बिटु मिश्रा