राजविराज, ९ साउन । भारतको बेङ्गलोरमा अध्ययनरत सप्तरीको झल्ही घर भएका एक विद्यार्थीको शुक्रवार साँझ हत्या भएको छ ।
बेङ्गलोर स्थित गौतम कलेजमा बी–फार्मेसी अध्ययनरत २४ वर्षिय चन्द्रभूषण यादव ‘चन्दन’को हत्या भएको हो । स्थानीय केटाहरुसँग विवाद भएपछि घरतर्फ जाने क्रममा उनको शव शुक्रवार साँझ बिजवाडा जक्सनदेखि करिब पाँच किलो मिटर पछाडि रेल–वेको छेउमा फेला परेको सप्तरीको महदेवा–६ घर भएका बेङ्गलोरमै अध्ययनरत विद्यार्थी सचिन मण्डलले ‘न्यूज टुडे’लाई जानकारी दिएका छन् ।
आचार्य इन्सिट्च्युट अफ हेल्थ कलेजमा रेडियोग्राफी अध्ययनरत छात्र मण्डलले दिएको जानकारी अनुसार चन्द्रभूषणको शव शुक्रवार साँझ फेला परेको छ । उनको मुख आखा तथा शरिरको विभिन्न भागमा गम्भीर चोट देखिएको छ ।
स्थानीय प्रहरीले घटनाको जानकारी पाएपछि शवको पोष्टमार्टमकालागि स्थानीय अस्पताल लगिएको थियो । प्रहरी घटनाबारे अनुसन्धान जारी राखेको छ । विद्यार्थी चन्द्रभूषणको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आफूले उनलाई मोबाइलमा फोन गर्दा प्रहरीले उठाएर घटनाबारे जानकारी दिएको सचिनले जानकारी दिएका छन् ।
मृतकको शव सोमवार अन्तिम संस्कारकालागि जिम्मा लगाईने उनले जानकारी दिए । बेङ्गलोरमा करिब दुई हजार पाँच सय नेपाली छात्रछात्रा अध्ययनरत छन् । तीमध्ये अधिकांश मधेशी मूलका नै रहेका छन् ।