राजविराज, ८ साउन । शुक्रवार रातीदेखि परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न गाविसमा करिब दुई हजारभन्दा बढी घर डुबानमा परेको छ ।
खडक, खाँडो, महुली, चापिन, सुन्दरी, भलुवाही लगायतका खोलाहरुमा आएको बाढीको पानी बस्तीमा पस्दा घरहरु डुबानमा परेको हो । बाढीले गर्दा नदीहरुको बाँध तथा स्पर भत्काउँदा सकरपुरा, दिघवा, लौनिया, रम्पुरा मल्हनियाँ, देउरी भरुवा, गोबरगाढा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठी लगायत डेढ दर्जन भन्दा बढी गाविसको बस्तीहरुमा पानी पसेको छ । 
यसका साथै बाढीले करिब तीस हजार हेक्टरभन्दा बढी खेतीयोग्य जग्गा जलमग्न भएको छ । जिल्लाको देउरी भरुवा गाविसको पक्की भवन समेत कटानको जोखिममा परेको प्राविधिक प्रशुराम यादवले जानकारी दिए । यसैगरी दर्जनौ माछा पोखरीहरुमा बाढीको पानी पस्दा लाखौं रुपैयाँ बराबरको माछा पानीसँगै बगेको देउरी भरुवा गाविस वडा नम्वर–१ का बलराम यादवले बताए । उनका अनुसार रोपिएका हज्जारौं बिघा धान खेत डुबानमा परेको छ ।
जिल्लाको बिसहरिया गाविसमा खोलाको बाँध शनिवार साँझ भत्किँदा वडा नम्वर–५ स्थित पिप्राही टोलका २५ घरमा पानी पसेको स्थानीय जिबछ कुमार यादवले जानकारी दिए । उनका अनुसार करिब एक हजार बिघा धान खेत समेत डुबानमा परेको छ ।


