• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तेरहौताको हजारौ बिघा खेती योग्य जग्गा डुबानमा

तेरहौताको हजारौ बिघा खेती योग्य जग्गा डुबानमा

बृजमान तामाङ
बिरेन्द्र बजार, ५ साउन । सप्तरीको तेरहौता स्थित दुधेला खोलामा आएको बाढीले बाँध भत्काएर खेतमा पानी पस्दा हजारौ बिघा खेतीयोग्य जग्गा डुबानमा परेको छ ।
गत बर्ष भु–संरक्षण कार्यालय सप्तरीद्वारा निर्मित बाँध कटान गरी खोलाले धार परिवर्तन गरी पानी पस्दा हजारौ बिघा खेतीयोग्य जमिन बाढीबाट डुबानमा परेको हो । खोलाले तटबन्ध कटान गरी बाढी पस्दा तेरहौता ८, ९ र ३ नम्बर वडाका किसानको हजारौ बिघा खेती योग्य जगा जलमग्न भएको स्थानीय तेरहौता–९ का बिजय कुमार भगतले जानकारी दिए ।
गतवर्ष मात्र जिल्ला भु संरक्षण कार्यालय सप्तरीले बाँध निर्माण गरेको बताउदै उनले भने ‘एक बर्ष नबित्दै बाँध खोलाले बगाएर लगे, किसानको खेतबाटै बाढी बग्छ, बाढीले खेतमा बालुवा थुपारी दिएको छ ।’ तेरहौता ९ का २५ घर दलित बस्ती समेत बाढीको समस्यामा परेको जानकारी दिदै स्थानीय जगदिश प्रसाद यादवले यस बारे सरोकारवाला निकायहरुमा जानकारी गराउँदा पनि कसैले सुनवाई नगरेको गुनासो गरे ।
अर्का बाढी पिडित तेरहौता ८ का भोला प्रसाद सरदारले सम्पतीको नाममा भएको कमाई गरेर खाने १० कठ्ठा जग्गामा खोला बग्न थालो कसरी परिवार पाल्नु भन्दै दुखेसो सुनाए । स्थानीयबासीको आग्रहमा बाढीबाट क्षती भएको स्थलमा बुधबार पुगेका गाबिस तेरहौताका खरिदार गिरधर मेहता र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बाढी नियन्त्रण चाडै नगरे भयावह अबस्था आउने बताउँदै सम्बन्धित निकायको ध्यानार्कषण गराउने प्रतिबद्धता जनाए । सप्तरीको अधिकांश खोलाहरु चुरेसँग जोडिएकाले सिंचाईको समयमा पानी नहुने र बर्षायाममा बाढीले सताउने गरेकोले सप्तरीबासीहरुले खडेरी र बाढीको मार बर्षेनी खेप्नु पर्ने बाध्यता रहदै आएको स्थानीबासीहरुको भनाई रहेको छ ।