राजविराज, ४ साउन । राजविराज–१ स्थित अतिथि गृहमा भईरहेको ग्यारेज निर्माण कार्य रोक्न पुनरावेदन अदालतले आदेश दिएको छ ।
पुनरावेदन अदालत, राजविराजका न्यायाधीशद्वय माधव प्रसाद पोखरेल र उमेश कुमार सिंहको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । स्थानीय रामपृत मण्डलले दिएको रिट उपरको सुनुवाई भई निषेधाज्ञा मिश्रीत परमादेश जारी गरेको छ । न्यायाधीशद्वयले २०४४ साल साउन ११ गते तत्कालीन पञ्चायत तथा स्थानीय विकास मन्त्रालयले अतिथी गृह निर्धारित परिधिभित्र रहेर नगरपालिकालाई सञ्चालन गर्न अख्तियारी दिएको देखिन आएको भन्दै गृहलाई अतिथीको सेवा सुविधा प्रदान गरिने निर्माण कार्य वाहेक नगरपालिकाले आफ्नो प्रयोजनार्थ कुनै निर्माण कार्य वा प्रयोग गर्न नपाउने अवस्था देखिएको ठहर गरेको छ । ग्यारेज तथा अन्य निर्माण कार्य नगर्नु नगराउनु भनि अन्तरीम आदेश जारी गरेको जनाईएको छ ।
अतिथि गृहको संरक्षण गर्नुको साटो राजविराज नगरपालिकाले पुराना बिग्रेका सवारी साधन राख्नकालागि कवाडी घर तथा गोदामको रुपमा प्रयोग गर्न थालेको थियो । चार ओटा एटेच बाथ रुमसहितको कोठा, भान्छा घर र कर्मचारी कोठा समेत रहेको उक्त अतिथि गृह परिसरमा राजविराज नगरपालिकाले सवारी साधन राख्नकालागि ग्यारेज निर्माण कार्य थालेका छन् ।
अतिथि गृहको हाताभित्र बिग्रिएको बारुणयन्त्र तथा पुराना गाडीहरु राखिएका छन् । यतिमात्र होइन फोहोर मैला समेत परिसरमै राखिने गरिएको छ । नगरपालिका कार्यालयका पुराना तथा बिग्रे–भत्केका सामानहरु अतिथिहरु बस्ने कोठाभित्र राखिएको छ । परिसरमै रिङ्ग, पोल आदी बनाउनमा प्रयोग गर्नुका साथै हाल अतिथि गृह अगाडिबाटै माटो खनेर धमाधम लगिने कार्य भईरहेको प्रति स्थानीय वासिन्दाले आपत्ति जनाउँदैआएका थिए । उनीहरुले अतिथि गृहको अस्तित्वलाई बिगार्ने काम तत्काल रोक्नुपर्ने स्थानीयवासिन्दाले माग गरेका थिए । अतिथि गृहको कुल क्षेत्रफल पाँच कट्ठा रहेको छ ।