राजविराज, ३ साउन । सप्तरीको राजविराज नगरपालिका–१ स्थित जिल्लाको एक मात्र सरकारी अतिथि गृहलाई संरक्षण गर्नुको साटो कवाडी स्थल बनाउन लागेको भन्दै स्थानीयवासिन्दाले गम्भीर आपत्ति जनाएका छन् ।
वि.सं. २०१६ सालमा पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाले उद्घाटन गरेको उक्त अतिथि गृहको संरक्षण गर्नुको साटो राजविराज नगरपालिकाले पुराना बिग्रेका सवारी साधन राख्नकालागि कवाडी घर तथा गोदामको रुपमा प्रयोग गर्न थालेको हो । चार ओटा एटेच बाथ रुमसहितको कोठा, भान्छा घर र कर्मचारी कोठा समेत रहेको उक्त अतिथि गृह परिसरमा राजविराज नगरपालिकाले सवारी साधन राख्नकालागि घर निर्माण कार्य थालेका छन् ।
अतिथि गृहको हाताभित्र बिग्रिएको बारुणयन्त्र तथा पुराना गाडीहरु राखिएका छन् । यतिमात्र होइन फोहोर मैला समेत परिसरमै राखिने गरिएको छ । नगरपालिका कार्यालयका पुराना तथा बिग्रे–भत्केका सामानहरु अतिथिहरु बस्नकालागि बनाई कोठाभित्र राखिएको राखिएको छ । परिसरमै रिङ्ग, पोल आदी बनाउनमा प्रयोग गर्नुका साथै हाल अतिथि गृह अगाडिबाटै माटो खनेर धमाधम लगिने कार्य भईरहेको स्थानीय वासिन्दा रामपृत मण्डलले जानकारी दिए । भवनका झ्यालहरु कुहिएर कामै नलाग्ने अवस्थामा पुगेको जानकारी दिँदै उनले भने ‘जिल्लाकै एकमात्र अति पुरानो सरकारी अतिथि गृहका संरक्षण गर्नुका साटो कवाडी घरको रुपमा प्रयोग गर्ने नियतले क्रियाकलापहरु भईरहँदा आफूहरुले यस्ता कार्य तत्काल रोक्न माग गरेका हौं ।
आफ्ना पिता स्व. बली मण्डल स्थापनाकालदेखि नै अतिथि गृहको रेखदेखको जिम्मा पाएको स्मरण गर्दै आफ्नो बाल्यकाल समेत अतिथि गृहमै बितेको बताए । जतिबेल ३ रुपैयाँ प्रति कोठाको सेवा शुल्क तोकिएको जानकारी दिँदै उनले भने ‘अतिथि गृह जिल्लावासीको साझा सम्पति हो, यसलाई सुन्दर बनाउनुको साटो बिगार्ने वा अस्तित्व नै मेटाउने अधिकार कसैलाई छैन ।’ अतिथि गृहलाई कवाडी खाना बनाउनबाट रोक्नकालागि आफूहरु पुनरावेदन अदालत राजविराजको शरणमा पुगेको स्थानीयवासिन्दा मण्डलले बताए ।
यस्तै भनाई रहेको छ अर्का स्थानीयवासिन्दा सुमित्रा गुप्ताको । अतिथि गृहको अस्तित्वलाई बिगार्ने काम तत्काल रोक्नुपर्ने बताउँदै उनले भनिन् ‘एक डेढ वर्ष अघि पनि बाहिरबाट ल्याईएको शौचालयको फोहोर मैला समेत अतिथि गृह परिसरमै राख्न शुरु गरिसकेको थियो, बस्तीमा दुर्गन्ध फैलिएपछि हामीहरुको व्यापक संघर्ष पछि रोकिएको हो ।’
कुल पाँच कट्ठा जग्गा रहेको अतिथि गृहको अवस्था जर्जर रहेकोले तत्काल मर्मत सुधारको आवश्यकता रहेको अतिथि गृहका वैद्यनाथलाल कर्णले बताए । विगत डेढ दशक यता अतिथि गृहमा बस्न नसक्ने अवस्था रहेको जानकारी दिँदै उनले भने ‘बिजुलीको लाइन काटिएका ६ वर्ष भईसकेको छ तर यसतर्फ कुनै पहल हुन सकेको छैन ।’
यस विषयमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले अतिथि गृहको छत चुहिने समस्या समाधान भईसकेको तथा आगामी वर्ष यसको पुनर्निमाण तथा व्यवस्थापनकालागि रकम समेत प्रस्ताव गरिसकिएको जानकारी दिए । नगरपालिका परिसरमा ठाउँको अभाव रहेकोले अतिथि गृह परिसरमा वारुण यन्त्र र सवारी साधनहरु राख्नकालागि घर निर्माण भईरहेको स्वीकार गर्दै हाल अदालतमा मुद्दा परेकोले काम रोकिएको उनले बताए ।