राजविराज, २ साउन । राज्यले मधेशीलगायत आन्दोलनरत पक्षको माग सम्बोधन नगरेको भन्दै दवाव स्वरुप सप्तरी जिल्लामा जारी अनिश्चितकालीन रिले अनशन आइतवार एक समारोहका बीच सम्पन्न भएको छ ।
सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा रिले अनसनलाई निरन्तरता दिँदै आएका थिए । अनसनको १६ औं दिन मधेशवादी दलका केन्द्रीय नेता तथा जिल्ला अध्यक्ष, भातृ सङ्गठनका अध्यक्षलगायतको व्यापक सहभागिताका बीच अनिश्चित रिले अनशन टुङ्गिएको छ ।
सहीद दशन चौकमा आयोजित समापन समारोहलाई सम्वोधन गर्दै संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष रेणु यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोली फेर्न माहिर रहेको बताएका छन् । आफू माइती फर्केर आएको भन्ने अभिव्यक्तिप्रति व्यंग्य गर्दै उनले भने ‘बोली फेरेर मात्र हुँदैन, व्यवहारमा परिवर्तन देखिनु पर्दछ ।’
मधेश आन्दोलनमा राज्यले देखाएको क्रुर बर्बरतापूर्ण शैलीको विषयमा अन्तराष्ट्रिय समुदायले थाहा पाएको भन्दै यो आन्दोलनलाई कुनै पनि शक्तिले रोक्न नसकिने उनले प्रष्ट पारिन् । ‘पहिचान र परिवर्तन पक्षधरहरु एकतावद्ध भएर शासकवर्ग विरुद्ध संघर्ष जारी राख्नु जरुरी छ’ उनले भनिन् ‘वर्षौंदेखि शोषण एवम् उत्पीडनमा परेका जनताहरुले आफ्नो गुमेको अधिकार प्राप्तिकालागि जस्तोसुकै संघर्ष गर्न तयार छ ।’ आन्दोलनका क्रममा स्वरुप परिवर्तन हुनु स्वाभाविक भएको भन्दै अधिकारप्राप्त नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा पूर्व शिक्षामन्त्री यादवले जोड दिईन् ।
कार्यक्रममा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंहले माइती र ससुरालीको कुरा कपटीपूर्ण खेल मात्र भएको भन्दै त्यस्तो बोलीप्रति सावधान रहनुपर्नेमा जोड दिए । आन्दोलनमा मधेशी सपूतहरुले दिएको बलिदानी खेर जान नदिने भन्दै जन–जनबाट सशक्त आवाज उठ्नुपर्नेमा जोड दिए । मधेशी जनताले गरेको कठोर संघर्षले इतिहास रच्न सफल भएको बताउँदै उनले भने ‘क्रुर शासकवर्गलाई झुकाउन गाउँगाउँबाट बालकदेखि बृद्धसम्म अझ सशक्त भएर उठ्नु जरुरी छ ।’
समारोहमा संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले ओली सरकार परास्त हुन गठबन्धनकोलागि खुशीको शंकेत भएको भन्दै मधेशवादी दलहरु यतिबेला थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले मधेशको माग सम्वोधन नभएसम्म सरकारमा जानुको औचित्य नरहने भन्दै जनताको भावनालाई सम्मान गरेर सशक्त आन्दोलनमा लाग्नुपने आवश्कता औंल्याए ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष रामनारायण यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्यत्रय सत्यनारायण यादव, दिपेन्द्र प्रसाद चौधरी, दिनेशकुमार यादव, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश प्रसाद सिंह, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता भरत प्रसाद साह, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य नेत्रविक्रम साहले मन्तव्य व्यक्त गरे । यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष रामप्रित यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका जिल्ला सदस्य कृष्णा प्रसाद यादव, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, तराई मधेश समाजवादी पार्टीका नेताद्वय मो. सलिम, सिताराम यादव, संघीय समाजवादी फोरम नेपालकी जिल्ला सदस्य सुनिता साह, महिला फोरमकी रमिला साहलगायतले मधेशको माग पुरा नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिए ।