• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बिना कारण प्रहरीले नियन्त्रणमा लिएको आरोप

राजविराज, १ साउन । सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाले आफ्ना पतिलाई बिना कारण प्रहरीले नियन्त्रणमा लिएको आरोप लगाएकी छिन् ।
शम्भुनाथ नगरपालिका–७ कठौना निवासी सोनिता कुमारी मण्डलले आफ्ना पति  हरी मण्डललाई प्रहरीले पक्राउ गरी अदालतको आदेशको अपहेलना समेत गरेको बताएकी छिन् । मधेशी पत्रकार समाज सप्तरीको कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सोनिताले यसअघि पुनरावेदन अदालत राजविराजले आफ्नो पतिलाई कानुन  बमोजिम बाहेक धरपकड नगर्न नगराउन आदेश दिएपनि त्यसको विपरित प्रहरीले गत बिहीबार आफ्नो पतिलाई पक्राउ गरेर लगेको उनले बताईन् ।
प्रहरीले बिना कारण दुःख दिन खोज्दा इलाका प्रहरी कार्यालय कठौनाका सई घनश्याम राय र ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक सुर्यनारायण यादवबिरुद्ध मण्डलले अदालतमा दायर गरेको मुद्दामा अदालतले पक्राउ नगर्न अन्तरिम आदेश दिएको उनले बताइन् । उक्त मुद्दामा अदालतले प्रहरीसँग जवाफ माग्दा इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी कठौना समेतले मण्डलबिरुद्ध कुनै उजुरी वा जाहेरी नपरेको लिखित जवाफ पेश गरेको उनले जानकारी दिईन् ।
दुबै प्रहरी कार्यालयले आफ्नो पतिबिरुद्ध लिखित तथा मौखिक कुनै उजुरी नपरेको जनाएपनि पक्राउ गरेर गाईघाट पुर्याइदिएको उनले बताईन् । गाईघाट लगेर प्रहरीले आफ्ना पतिलाई यातना दिइरहेको बताउँदै उनले बिना कारण प्रहरीको नियन्त्रणमा रहेका आफ्ना पतिलाई रिहाईका लागि पहल गरिदिन अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी लगायत सम्वद्ध पक्षसँग आग्रह गरेकी छिन् ।