राजविराज, १ साउन । मधेश पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बृज कुमार यादवले शनिवार एक कार्यक्रमका बीच ‘मधेश न्यूज’ दैनिक पत्रिकाको विमोचन गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराज स्थित पत्रिकाको कार्यालयमा आयोजित कार्यक्रममा उनले पत्रिकाको बिमोचन गरेका हुन् । टुडे टेलिभिजन, जनकपुर टुडे र टुडे एफएम सञ्चालक समितिका अध्यक्ष समेत रहेका बीबीसी रेडियोका सम्वाददाता यादवले प्रेस काउन्सिल मधेशका मिडियाहरुप्रति पुर्वाग्रही रहेको भन्दै एकतावद्ध भएर मधेशको पक्षमा सशक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिए । स्थानीय विज्ञापनहरु समेत राष्ट्रिय मिडियाहरुमै जाने गरेकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख अतिथि यादवले मोफसलका सञ्चारमाध्यमलाई सबल बनाउन विज्ञापनलाई विकेन्द्रिकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमका विशिष्ठ अतिथि संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष रेणु यादवले अधिकारप्राप्तिकालागि जारी आन्दोलनमा राष्ट्रिय मिडियाहरु पूर्वाग्रही रुपमा प्रस्तुत भएको अवस्थामा मधेशका मिडियाहरुले निभाएको भूमिका इतिहासले मूल्याङ्कन गर्ने बताईन् । मधेशमा सशक्त सञ्चारमाध्यमको आवश्यकता औंल्याउँदै यसको विकासकालागि सबै पक्षले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिईन् ।
कार्यक्रमका विशिष्ठ अतिथि सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष नवल किशोर साहले जारी मधेश आन्दोलनलाई उँचाईमा पुर्याउन मधेशका मिडियाहरुले निर्भिक भएर आमजनतालाई साथ दिएर आफ्नो भूमिका निभाएको बताए । मधेशमा नयाँ सञ्चारमाध्यम र सञ्चारगृह थपिनु सौभाग्यको कुरा भएको भन्दै यसलाई सबल बनाउन आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मधेश न्यूज प्रा.लि.का अध्यक्ष दिनेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादव, विद्यार्थी नेता तारकेश्वर यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । मधेश न्यूज दैनिकको प्रकाशकमा रमेश कुमार यादव, सम्पादकमा अशोक कुमार झा, कार्यकारी सम्पादकमा शुभनारायण यादव, प्रबन्ध निर्देशकमा अशोक कुमार यादव, कानूनी सल्लाहकारमा देवनारायण यादव र कम्प्युटरमा रिङ्कु कुमारी यादव रहेका छन् ।