राजविराज, १ साउन । कर्मचारीहरुले सार्वजनिक रुपमा माफी मागेपछि ठप्प रहेको राजविराज स्थित मालपोत कार्यालयको कामकाज आइतवारदेखि सूचारु हुने भएको छ ।
सिडिओ बङ्गलामा शनिवार सम्पन्न सर्वपक्षीय बैठकमा कर्मचारीहरुले गल्ती स्वीकार गरी सेवाग्राहीसँग आईन्दा विवाद नगर्ने भन्दै बैठकमा माफी मागेपछि विवाद साम्य भएको हो । जग्गा रजिष्ट्री गराउने क्रममा राजविराज नगरपालिका वडा नम्वर–१० का ३४ वर्षिय श्यामप्रसाद साहलाई बुधवार कार्यालयका कर्मचारीहरुले निर्घात कुटपीट गरी घाइते बनाएका थिए । जग्गा रजिष्ट्री गराउनकालागि प्रक्रिया अगाडि बढाउने क्रममा रजिष्ट्रेशन फाँटका कर्मचारी धर्मेन्द्र खड्का र योगेन्द्र अधिकारीले चाँडो काम अगाडि बढाई दिने भन्दै दुई सय रुपैयाँ माग गरेका थिए ।
पीडित साहका अनुसार रकम नदिने अडान लिएपछि कागज फालिदिएको तथा आफूले ‘सेवाग्राहीको काम गर्नु तपाईहरुको दायित्व हो’ भनेपछि फाँटका कर्मचारी खड्का र अधिकारीले गाली–गलौज गर्दै कुट्न थालेका थिए । आफूलाई कुट्न थालेको देखेर मालपोत कार्यालयका जामुन यादव, पशुपती देवलगायतले मुक्का, रड र धारिलो हतियारले हिर्काएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा आएको टोलीले आरोपित कर्मचारी र पीडित साहसमेतलाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगेका थिए । यद्यपी पक्राउ परेका कर्मचारीहरुलाई तत्कालै छाडिएको भन्दै आक्रोशित सर्वसाधारण जनताले मालपोत कार्यालयको कामकाज अवरुद्ध पार्दैआएका थिए । दोषी कर्मचारीलाई आम जनता सरह कार्वाही नगरिएसम्म मालपोत कार्यालयको कामकाज अवरुद्ध राख्ने अडान राख्दैआएका थिए ।
प्रशासकीय अधिकृत प्रेम प्रसाद उपाध्यायको अध्यक्षतामा शनिवार सम्पन्न सर्वपक्षीय बैठकले सेवा प्रदान गर्ने क्रममा सेवाग्राहीसँग विवाद नगर्ने, विवाद हुँदा आधिकारिक ट्रेड युनियनसँ समन्वय गरी मात्र कार्वाही अगाडि बढाउने, सेवा प्रभावकारी एवम् चुस्तदुरुस्त बनाउने, घाइते सेवाग्राही साहलाई उपचार तथा क्षतिपूर्तिको व्यवस्था मिलाउने सहमती भएको छ । उक्त घटनाबारे कुनै पनि निकायमा उजुरी वा मुद्दा नगर्ने, दोषी कर्मचारीलाई निजामति सेवा ऐन अनुसार कार्वाही गर्ने र साउन २ गते आइतवारदेखि मालपोत कार्यालयको कामकाज सुचारु गर्ने तथा कुनै पनि पक्ष यस्तो घटना अब उपरान्त नदोहोराउने सर्वसम्मत निर्णय भएको छ ।