• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
महायज्ञकालागि पिण्डेश्वरमा सहयोग समिति

राजविराज, ३१ असार । सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्ति–पीठमा २०७३ चैत १६ गते हुने नेपालको पहिलो श्री लक्षचण्डी रुद्र महायज्ञका लागि धरानको पिण्डेश्वरमा शुक्रबार बिहान आयोजित एक भेलाले महायज्ञ सहयोग समिति गठन गरेको छ ।
महायज्ञ जनसम्पर्कको क्रममा पिण्डेश्वर पुगेको राष्ट्रिय शान्ति मेची–महाकाली रथयात्राको स्वागत र सम्मानमा आयोजित उक्त भेलाले विश्व हिन्दू महासंघ धरानका अध्यक्ष देवराज अधिकारीको संयोजक्त्वमा सहयोग समिति गठन गरेको हो । समितिमा पिण्डेश्वर सेवा समितिका अध्यक्ष गौरीशंकर अग्रवाल उपसंयोजक रहनुभएको छ । समितिमा विश्व हिन्दू परिषद्लगायत विभिन्न संस्थासँग सम्बद्ध दशवटै वडाका भक्तजनहरु सदस्य रहेका छन् ।
महायज्ञका संयोजक तथा छिन्नमस्ता सखडेश्वरी शक्ति–पीठका पीठाधीश महाकान्त ठाकुरको अध्यक्षतामा सम्पन्न भेलाले महायज्ञमा तन–मन–धनले सहयोग गर्ने निर्णय गरेको छ । राष्ट्रिय शान्ति एवं मानव कल्याण हेतु यज्ञस्थल सखडेश्वरी पीठबाट गत बिहीबार निस्केको रथको नेपालको ७५ वटै र भारतको बिहार राज्यको ३८ वटै जिल्लाको साढे चार महिनाका दरले कूल नौ महिनाको भ्रमण गरी महायज्ञ सुरु हुनुभन्दा एक साताअघि यज्ञस्थलमा फर्कने कार्यक्रम रहेको छ ।
सप्तरीबाट बिहीबार भ्रमण प्रारम्भ गरेको रथ मार्गका मठ–मंदिरहरुमा पूजाअर्चना गर्दै बिहीबारै सुनसरीको पिण्डेश्वर पुगेको छ । पिण्डेश्वरबाट रथ शुक्रबार बेलुकी चतरा पुगेको छ । चतरापीठका पीठाधीश्वर जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा रहेको स्थानीय हजारौं भक्तजनले रथको स्वागत गरेको छ । साउन २ गते इटहरी, ३–५ गते विराटनगर, ६–७ गते रंगेली, ८ गते सिजुवा र ९ गते उर्लाबारीमा रथयात्राको स्वागत कार्यक्रम तय गरिएको छ । रथयात्रा पूर्वाञ्चल क्षेत्रको भ्रमण सम्पन्न गरी पश्चिमतर्फ लाग्ने योजना रहेको महायज्ञ सूचना केन्द्रले जनाएको छ ।