राजविराज, २४ असार । गाविस सचिवले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि सप्तरीको मलेकपुर गाविसका बृद्धबृद्धाहरु शुक्रवार उजुरी गर्न जिल्ला विकास समिति राजविराजमा पुगेका छन् ।
करिब पाँच किलोमिटर पैदलै हिँडेर सदरमुकाम पुगेका उनीहरुले आफूहरुले पाउनुपर्ने बृद्ध भत्ताको रकम उपलब्ध गराईदिन माग गर्दै जिल्ला विकास समिति घेराउ गरेका हुन् । महिना दिनदेखि विरामी परे पनि खर्चको अभावले दिनहुँ गाविस कार्यालय धाउँदा समेत गाविस सचिव नभेटिएकोले बाध्य भएर जिल्ला विकास समितिको कार्यालय आउनुपरेको मलेकपुर–५ का ८५ वर्षिय शुभलाल दासले बताए । ‘मासिक भत्ता बाहेक अरु कुनै आम्दानी छैन’ उनले भने ‘तर गाविस सचिवले महिनौदेखि पैसा नदिँदा औषधी उपचार समेत गर्न पाईएको छैन ।’
यस्तै भनाई मलेकपुर खुरहुरियाकी जुडमी देवी यादवको पनि रहेको छ । आफ्नो आवश्यकताका सरसामान बृद्धभत्ताबाटै किन्ने गरेकी उनले आर्थिक वर्ष समाप्ति हुने बेलामा पनि रकम नपाएका कारण बिचल्लीमा परेको बताईन् । पहिलेका गाविस सचिवले आज दिन्छु भोली दिन्छु भन्दै झुलाएर भत्ता नदिएको गुनासो सुनाउँदै उनले भनिन् ‘हामी बृद्धबृद्धासँग पनि साँचो कुरा नगरी झुलाएर दुःख दिने काम गरेका छन् ।’
खुरहुरियाकै अमलनारायण मण्डलले पाकेको भत्ता पनि समयमा नपाउँदा साह्रै अप्ठ्यारो परेको बताउँदै भने ‘एकातिर भत्ता नपाउँदा समस्या परेको छ, अर्कोतिर दिनहुँ गाविस धाउँदाको सास्ती खेप्नु परेको छ ।’ आफूहरुले पाउनुपर्ने रकम उपलब्ध गराई दिए बुढेसकालमा गर्जो टार्न सजिलो हुने बृद्धबृद्धाहरुको भनाइ छ ।
जिल्ला विकास समितिका योजना अधिकृत धीरेन्द्र कुमार यादवले तत्कालिन गाविस सचिव प्रदीपकुमार कर्णले जिल्ला विकास समितिबाट अघिल्लो किस्ताको रकम निकासाको भर्पाई नबुझाएकोले दोस्रो किस्ता निकासा नभएका कारण यस्तो समस्या आएको बताए । उनले कर्णलाई पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेपछि कार्वाही प्रक्रिया अगाडि बढाईएको र अर्को गाविस सचिव पठाई सामाजिक सुरक्षा भत्ता निकासा दिने बताए ।