वीरगञ्ज, २२ असार । सदभावना पार्टीका सांसद एवं पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णको संसदिय कोषको रकमबाट बुधवार वीरगञ्जमा कम्प्युटर र साइकल वितरण गरिएको छ ।
सांसद कर्णको कोषबाट पर्सा जिल्लाका बिभिन्न बिद्यालयमा अध्यनरत ४० जना बिद्यार्थीहरु साईकल बितरण गरिएको हो । सांसद कर्णकै संसदिय कोषको रकमबाट सशीधर कृष्णा तिवारी प्रा.बि बिरञ्चीबर्वालाई २ थान, दिपनारायण आदर्श उच्च मा.बि.औराहा पञ्चगाँवा ,फेवाताल बचत तथा ऋण सहकारी संस्था जानकीटोला, नेपाल धानुक समाज जिल्ला कार्य समिती पर्सा, नेपाल राष्ट्रिय मा.बि. सेढवा बिर्ता, जन जागरण युवा क्लब नि. मा. बिद्यालय बस्डिलवा र ग्रामिण संस्था बिकास केन्द्र वीरगञ्ज– २३ हरपतगञ्जलाई एक–एक थान कम्प्युटर बितरण गरिएको सद्भावना पार्टीले जनाएको छ ।
जगदिश पटेलको सभापतित्वमा सम्पन्न बितरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सांसद लक्ष्मणलाल कर्णले अगामी दिनहरुमा पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिकास निर्माणको काम संगै साईकल र कम्प्युटर बितरण जस्ता कार्यलाई निरन्तरता दिने बताए । सिमित बजेटले सवै क्षेत्रमा समान ढङ्गले बिकास गर्न निकै चुनौती रहेकोले आगामी दिनमा छुटेको क्षेत्र र बढी प्रभावकारी हुने कार्यक्रममा बजेट खर्चिने बताए । बदलिंदो युगमा कम्प्युटर शिक्षाको महत्व बढदै गएकोले आफु कम्प्युटर बितरणमा बिशेष ध्यान दिएको बताए । कर्णले आफनो छोरा–छोरीहरुलाई अनिवार्य कम्प्युटर शिक्षा लिन अनुरोध समेत गरे ।
कर्णले पर्साको भिस्वा अनाथालय, लङ्गडी स्कुलको मुलढोका, असवारी सडक, चिलझपटी लगायतको ठाउँमा आफनो संसदिय कोषको रकमबाट बिकास निर्माण भएको बताए । संसदिय कोषको रकम पहाडमा राम्रो सदुपयोग भएको र मधेसमा कार्यकर्ता पोस्ने काम मात्र भएकोले यसप्रति मधेसी जनतालाई चनाखो बस्न आग्रह गरे ।
वीरगञ्ज स्थित चित्रगुप्त मन्दिरमा सम्पन्न कार्यक्रममा सदभावना वीरगञ्ज नगर अध्यक्ष ओमप्रकास सर्राफ, जिल्ला सदस्य अशोक सिंह, नेताहरु पंकज अग्रवाल, राजकुमार साह, अंगद हजरा, रामअशिष धानुक, अशोक कुर्मी , केन्द्रीय सल्लाहकार रामचन्द्र कुर्मी, क्षेत्र नम्वर ५ का क्षेत्रिय अध्यक्ष जटाशंकर लगायतको उपस्थिति रहेको थियो ।