भारदह, १७ असार । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको प्रथम महाधिवेशन सप्तरीको पोर्ताहा स्थित कंकालिनी माध्यमिक विद्यालय प्राङ्गणमा शुक्रवारदेखि सञ्चालन भएको छ ।
उद्घाटन समारोहमा बोल्दै पार्टीका अध्यक्ष विकास कुमार तिवारीले मधेशको मुक्ति नभएसम्म आफूहरु सत्तामा नजाने उद्घोष गरेका छन् । उनले स्व. गजेन्द्रनारायण सिंहको सपना अखण्ड मधेश रहेको भन्दै त्यसकालागि आफूहरुले संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।
उद्घाटन समारोहमा मानवअधिकारवादी एवम् सामाजिक अभियन्ताद्वय तुला नारायण साह र दिपेन्द्र झा मधेश आन्दोलनको विभिन्न पाटो तथा सामाजिक एवम् सांस्कृतिक अभियानबारे प्रष्ट्याए । कार्यक्रममा राजनीतिकर्मी एवम् समाजसेवी जयसुन्दर खिडहरी, संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका प्रवक्ता बलराम यादव, दलित नेता कपलेश्वर सरदार, गजेन्द्रवादीका केन्द्रीय उपाध्यक्ष सीताराम पौद्दार, सह–महासचिव विन्देश्वर यादव, केन्द्रीय सदस्य साबित्री पण्डित, लक्ष्मी व्यापार संघ भारदहका अध्यक्ष कुन्दन कुमार मण्डल, डा. जयनारायण मण्डललगायतले सम्वोधन गरे ।
कार्यक्रममा महाधिवेशन आयोजक समितिका संयोजक दानी मण्डलले स्वागत मन्तव्य व्यक्त गरे । सोही अवसरमा मधेश आन्दोलनका सहीदपत्नीहरु पूनम साह, सुदामा राउत र बबिता कुमारी रामलाई सम्मान गरिएको छ । कार्यक्रममा युवा गायक केशव कुमार कर्णले मधेश आन्दोलन सम्वन्धि गीत प्रस्तुत गरे भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी भूपेन्द्र मण्डलले गरे ।
महाअधिवेशन असार १७ देखि १९ गतेसम्म चल्ने आयोजक समितिले जनाएको छ ।