• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चार मन्त्रालयको संयुक्त टोली सप्तरीमा, अनुगमनको अभावमा सेवा प्रभावकारी हुन नसकेको ठहर

चार मन्त्रालयको संयुक्त टोली सप्तरीमा, अनुगमनको अभावमा सेवा प्रभावकारी हुन नसकेको ठहर

राजविराज, १६ असार । महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण संसदीय समितिको नेतृत्वमा विभिन्न चार मन्त्रालयको टोलीले सप्तरीमा विहीवारदेखि स्थलगत अनुगमन शुरु गरेको छ ।
लक्षित वर्गकालागि सञ्चालित कार्यक्रम प्रभावकारी नभएकोबारे जन गुनासो बढेपछि टोलीले स्थानीय स्तरमै पुगेर अनुगमन शुरु गरेको हो । समितिकी सभापति रञ्जु ठाकुरको नेतृत्वमा युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चुडामणी, स्वास्थ्य मन्त्रालयका झलक शर्मा पौडेल, शिक्षा मन्त्रालयका उप–सचिव दिपक शर्मा र स्थानीय विकास मन्त्रालयका उप–सचिव दिपकराज सुवेदी, शिक्षा विशेषज्ञ पुरुषोत्तम आचार्यसहितको टोलीले जिल्लाको बलुवा सितापुर महेन्द्र जनता उच्च माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा लक्षितवर्ग र सरोकारवालाहरुसँग विद्यालयमा बालक्लवको अवस्था, छात्राहरुकालागि गुनासो पेटिका, छात्रा शौचालय, खेल मैदान, विद्यालयमा छात्र–छात्राको उपस्थिति, छात्रबृति तथा पाठ्यपुस्तक वितरणलगायतको विषयमा दोहोरो सम्वाद गरिएको थियो । 2
यसैगरी राजविराजमा विहीवारै आयोजित अन्तर मन्त्रालय बीचको अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, स्थानी विकास, युवा तथा खेलकुद मन्त्रालयको विषयमा सरोकारवालाहरुले विभिन्न प्रश्नहरु राखेका थिए । विद्यालयमा छात्राहरुकोलागि छुट्टै शौचालयको अभाव, टिफिन पछि ग्रामिण भेगका विद्यालयहरुमा पठन–पाठन नहुने गरेको, छात्राहरुले बीचैमा पढाई छोड्ने समस्या, बालविवाहलगायतका समस्याहरुबारे सहभागीहरुले गुनासो गरेका छन् । उनीहरुले किशोरी शिक्षाको प्रभावकारितामा कमी, सुनौला हजार दिन कार्यक्रम, सरकारी कार्यालय र विद्यालय अपाङ्गमैत्री नभएको विषयमा समेत ध्यानाकर्षण गराए ।
एकै प्रकारको कार्यक्रम विभिन्न मन्त्रालय मार्फत हुने गरेको कारणले पनि कार्यक्रममा प्रभावकारिता नभएको भन्दै मातहतका कार्यालयहरु बीच आपसी समन्वय गरी एकद्वार माध्यमबाट सञ्चालन हुनुपर्नेमा सहभागीहरुले सुझाव दिए । उनीहरुले प्रभावकारी अनुगमनको अभावले कार्यक्रम कागजमा मात्रै सिमित रही लक्षित वर्गसम्म नपुगेको विषयलाई पनि प्राथमिकताका साथ उठाएका थिए ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिकी सभापति ठाकुरले युनिसेफद्वारा सरसफाई, खोप, पोषण, सुनौला हजार दिन लगायतको कार्यक्रममा सहयोग प्राप्त भएको तर त्यसलाई एकद्वार मार्फत सञ्चालन नगरि विभिन्न मन्त्रालयमार्फत गरिएकोले अपेक्षाकृत सफलता हासिल नभएको बताईन् । उनले स्थानीयस्तरमा पनि मिल्दाजुल्दा कार्यक्रम सञ्चालन गर्ने कार्यालय बीच समन्वय होस् भन्ने उद्देश्यका साथ स्थलत रुपमै यस्तो छलफल आयोजना गरिएको स्पष्ट पारिन् ।
विभिन्न मन्त्रालयसँग सम्वन्धित प्रश्नबारे ती मन्त्रालयका प्रतिनीधिले प्रष्ट्याएका थिए । कार्यक्रममा शिक्षक, अपाङ्ग, महिला, गैरसरकारी संस्था, ज्येष्ठ नागरिक, सञ्चारकर्मी, निजी विद्यालय समेतका जिम्मेवार पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
शुक्रवार समेत जिल्लाका विभिन्न स्थानमा स्थानीय समुदायसँग सेवाको विषयमा स्थलगत रुपमै छलफल, सरोकारवाला कार्यालयका प्रमुख तथा कार्यक्रम संयोजकसँग छलफल गरिने कार्यक्रम रहेको एजुकेशन पेजेजका कार्यकारी निर्देशक राजेन्द्र उप्रेतीले जानकारी दिए ।