राजविराज, ९ असार । सप्तरीको राजविराज नगरपालिका–१ स्थितको वस्तीबाट सप्तरी प्रहरीले विहीवार करिब एक हजार लिटर मदिरा बरामद गरेको छ ।
विजय गुप्ताको घरमा भाडा लिई राजविराज ५ का बद्रि यादव र उनकी पत्नी सावित्रि यादव बुढाथोकी समेतले बृहत रुपमा घरेलु मदिरा अवैध रुपमा उत्पादन गर्ने गरेको भन्ने सुचनाको आधारमा प्रहरी छापामारी गरेको हो । प्रहरी नायव निरीक्षक ब्रम्हदेव साहको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको कोठाबाट अन्दाजी एक हजार लिटर तयारी मदिरा तथा मदीरा उत्पादन गर्ने कच्चापदार्थ (सख्खर, पुराना चप्पल, कोदो, मर्चा)लगायतका १ हजार ५ सय केजी तथा मदिरा उत्पादनमा प्रयोग हुने ५०–६० ओटा भाडावर्तनहरु समेत बरामद गरिएको छ । बद्रि यादवलाई पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
राजविराज नगरपालिका–९ स्थित कपिल भुजेलको घरमा मदीरा अवैध रुपमा उत्पादन गर्ने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजविराजका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा खटिएको टोलीले १० लिटर तयारी मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चापदार्थ (सख्खर, पुराना चप्पल, कोदो, मर्चा) लगायत अन्दाजी ४ सय केजी तथा मदिरा उत्पादनमा प्रयोग हुने २० ओटा भाडावर्तनहरु बरामद गरी निज कपिल भुजेललाई पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईररहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।