राजविराज, ३ असार । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले वर्तमान सरकारका उप–प्रधानमन्त्री चित्रवहादुर केसीले संघीयता विरोधी कुरा गरेर पुरानै संरचनामा फर्काउन खोजेको टिप्पणी गरेका छन् ।
‘न्यूज टुडे’सँग विहीबार कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । संघीयता र लोकतान्त्रिक गणतन्त्रकालागि नेपाली जनताले ठूलो त्याग र बलिदानी दिएको बताउँदै उनले भने ‘उप–प्रधानमन्त्री केसीले संघीयता विरोधी कुरा गरेर देशलाई पुरानै संरचनामा फर्काउन खोजेको छ ।’ संघीयता आम शोषित उत्पीडित जनताको चाहना भएको भन्दै नेता साहले संघीय संरचना फर्काउने कुरा दिवा स्वप्न जस्तै भएको बताए ।
पहिचान विरोधी शक्तिहरु यतिबेला जुर्मुराएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिनेहरुलाई होस पुर्याएर बोल्न समेत उनले चेतावनी दिए । ‘संघीयता शोषित उत्पीडित जनताको त्याग बलिदानबाट आएको हो, यस्ता अभिव्यक्ति दिने कार्य बन्द नगरे त्यसको जवाफ दिन पनि जनताले जानेको छ’ उनले भने ‘संघीयता पक्षधर शक्तिहरु पहिचानसहितको संघीयताकालागि जस्तोसुकै आन्दोलनका लागि पछि हट्नेवाला छैनौं ।’
एक अर्को प्रसङ्गमा फोरमका केन्द्रीय नेता साहले वर्तमान सरकार वार्ताको नाममा झुटो नाटक गरेर मधेशी, आदिवासी, जनजातीलगायतको एकतालाई तोड्ने षडयन्त्र गरिरहेको आरोप लगाउँदै सचेत रहन आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको नाममा आन्दोलनरत सङ्गठनहरुलाई फुटाएर आन्दोलन कमजोर पार्ने षडयन्त्र गरिरहेको बताउँदै उनले भने ‘वर्तमान सरकारले वार्ताको नाममा झुटो नाटक गरेर मधेशी, आदिवासी, जनजातीलगायतको एकतालाई तोड्ने षडयन्त्र गरिरहेकोले आमजनता सचेत रहनु आवश्यक छ ।’
न्याय, समानता र पहिचानकालागि जारी सङ्घर्षबारे विश्व अब अनभिज्ञ नरहेको प्रष्ट पार्दै जस्तोसुकै सङ्घर्ष गर्न शोषित उत्पीडित जनता पछाडि नहट्ने नेता साहले बताए । उनले भने ‘सङ्घीय गठबन्धनको नेतृत्वमा आन्दोलन भईरहेको छ तर वार्ताकालागि प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत दल तथा आन्दोलनमा नरहेका सङ्गठनलाई समेत छुट्टा–छुट्टै पत्र पठाएर आफ्नो नौटङ्कीपूर्ण चरित्रको परिभाषा दिएको छ ।’ आन्दोलनमा नरहेका शक्तिहरुलाई अनावश्यक रुपमा वार्ताको पठाएर ओली सरकारले आन्दोलन कमजोर पार्न नयाँ जाल फ्याँकेको दावी गरे ।
सङ्घीय गठबन्धनले गरेको सिंहदरवार घेराउ कार्यक्रमबाट राज्यपक्ष र पहिचान विरोधी शक्तिहरु भयभीत भएको नेता साहले बताए । राष्ट्रिय आन्दोलनलाई राज्यले अझैं उपेक्षा गरे गठबन्धनले जस्तोसुकै कठोर आन्दोलन गर्न बाध्य हुने बताउँदै खुलामञ्चमा जारी रिले अनसनमा पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणलगायतका नेता तथा मानवअधिकार एवम् नागरिक समाजका अगुवाहरुले आन्दोलनप्रति ऐक्यवद्धता जनाईसकेको जानकारी दिए ।