राजविराज, ३२ जेष्ठ । मधेशी मोर्चा सप्तरीको संयोजकमा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव चयन भएका छन् ।
आइवार वसेको मोर्चाको वैठकले उनलाई संयोजकमा चयन गरेको जानकारी दिईएको हो । मधेशी मोर्चाको वैठकद्वारा गरिएको निर्णय सार्वजनिक गर्न सोमवार मधेशी पत्रकार संघको कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान संयोजक गजेन्द्रकुमार मण्डल ‘अनुराग’ले उक्त विषय सार्वजनिक गरेका छन् । मधेशी जन अधिकार फोरम गणतान्त्रिकका सप्तरी अध्यक्ष हुन् ।
मधेश आन्दोलनमा १० लाख ९४ हजार ३ सय संकलन भएकोमा १२ लाख ७३ हजार ६ सय ६० रुपियाँ खर्च भएको समेत उनले पत्रकारहरुमाझ सार्वजनिक गरे । आन्दोलनका तीन जना शहिद परिवार तथा तीन घाइते परिवारलाई तत्काल रोजगारीको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
मधेश आन्दोलन लगायत अन्य विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका व्यक्तिहरुको सालिक निर्माणका लागि १८ लाख रुपियाँ छुट्याउन पहल गरेको र रुपनी–गाइघाट सडकका लागि १ करोड रकम बजेट छुट्याउन मोर्चाले दवाव दिएको समेत मण्डलले प्रष्ट्याए । आफूले मोर्चाको संयोजकको हैसियतामा रहँदा जिल्लावासीबाट भरमग्दुर सहयोग पाएको भन्दै आउँदा दिनहरुमा समेत सहयोगलाई निरन्तरता दिन समेत मोर्चाका निवर्तमान संयोजक मण्डलले बताए ।
पत्रकार सम्मेलनमा सद्भावना पार्टी सप्तरीका अध्यक्ष सुनिलकुमार झा बाहेक मोर्चा सम्वद्ध अन्य दलका अध्यक्षहरु अनुपस्थित रहेका थिए ।