चुनावको कुरा सत्ता लम्ब्याउने खेलः थापा
राजविराज, १० जेठ । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संविधान कार्यान्वयनका लागि मधेशको असन्तुष्टिलाई संविधान संशोधन मार्फत सम्वोधन गर्नुको विकल्प नरहेको बताएका छन् ।
नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्वर–३ ले सोमवार राजविराजमा आयोजना गरेको ‘देशको वर्तमान समसामयिक, राजनीतिक अवस्था र कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । ‘संविधान कार्यान्वयनका लागि मधेशको माग सम्बोधन आवश्यक छ’ सिटौलाले भने ‘यसका लागि संविधान संशोधन जरुरी छ ।’
संविधान कार्यान्वयन नहुञ्जेलसम्म देशमा राजनीतिक स्थिरता सम्भव नरहेको भन्दै उनले कांग्रेसले त्यसको अग्रसरता लिन जरुरी रहेको जिकिर गरे । ‘कांग्रेसले मधेशको अधिकांश भागमा प्रतिनिधित्व गरेको छ’ नेता सिटौलाले भने ‘संविधानप्रति बहुसंख्यक मधेशीको असन्तुष्टिलाई मेट्न कांग्रेसले नै अघि बढ्नु आवश्यक छ ।’
संविधान मस्यौदा समितिका सभापति समेत रहिसकेका सिटौलाले कांग्रेस नेतृत्वमै बनेको संविधान कार्यान्वयनका लागि पनि कांग्रेसबाटै अग्रसरता हुनुपर्नेमा जोड दिए । उनले भने ‘लोकतान्त्रिक आन्दोलनमा जनताले दिएको सहादतबाट नै अहिलेको संविधान आएको हो, यो कार्यान्वयन नहुँदा जनताप्रति नै अन्याय हुनेछ ।’
वर्तमान सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गराउने भने पनि राजनीतिक सहमति बिना त्यो सम्भव नहुने उनको भनाइ छ । ‘चुनावका लागि राजनीतिक र सबै दलहरु बीच विश्वास आवश्यक छ’ उनले थपे ‘सहमति र विश्वास बिनाको निर्वाचन कोरा कल्पना र भुलभुलैया मात्र हुनेछ ।’
सोही बिचार गोष्ठीमा बोल्दै कांग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकार चुनावको कुरा उठाएर सत्ता लम्ब्याउने खेलमा लागेको बताए । उनले चुनावको कुरा गरेर सत्ता टिकाउने प्रपञ्चमा प्रधानमन्त्री केपी शर्मा ओली लागेको भन्दै उनको विकल्प सिघ्र खोज्नु जरुरी रहेको बताए ।
मधेशबाट कांग्रेसकै सांसद्हरुको ठूलो संख्यामा प्रतिनीधित्व रहेकोले कांग्रेसले नै मधेशको असन्तुष्टि समाप्त गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । उनले भने ‘वर्तमान सरकार बामपन्थी एकतालाई प्राथमिकता दिँदैछ, मधेशको समस्याप्रति ईमान्दार छैन ।’ मधेशको समस्यालाई मधेशवादी दलले होइन, कांग्रेसले नै बुझ्नुपर्ने पहिलो आवश्यकता रहेको थापाको भनाइ थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्वर–३ का सभापति महानन्द यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य रामकुमार चौधरी, युवा नेता ईर्साद अन्सारीलगायतले पनि बोलेका थिए ।