राजविराज, १० जेठ । लुम्बिनीमा अन्तराष्ट्रिय सम्मेलनका क्रममा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ३१ जनामध्ये २० जनामाथि सार्वजनिक अपराधबारे अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको छ ।
पक्राउ परेका मध्ये १० जनालाई साधारण तारीखमा आइतबार बेलुका ७ बजे रिहा गरिएको छ । सम्मेलनका क्रममा नाराबाजी गरिरहँदा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । भैरहवामा प्रहरी हिरासतमै कुटाईबाट बेहोश भएका कृष्णमोहन यादवलाई उपचार गराउन अस्पतालमा भर्ना गरिएको छ भने हिरासतमा रहेका स्वतन्त्र मधेशका कार्यकर्ताहरुमाथि शारिरीक एवम् मानसिक यातना दिने गरेको गठबन्धनका सह–संयोजक कैलाश महतोले जानकारी दिएका छन् ।
लुम्बिनीबाट गिरफ्तार गरिएका भगवान दास वनिया, प्रकाश यादव, विजयनाथ यादव, सुर्दशन वि.क, धर्मेन्द्र गुप्ता, चन्द्र सेखर सुनार, राम केश गुप्ता, अजित सिंह, मनोज कुमार यादव, जितेन्द्र चौधरी, रामभवन हरिजन, योगेन्द्र चौधरी, विजय यादव, दिलिप यादव, लिला प्रसाद पाल, भोपेन्द्र यादव, अब्दुल खान, इर्फान सेख, शिवचरण केवट, राम आशिष बनियालाई सार्वजनिक अपराध मुद्दामा ७ दिनको म्याद थप गरिएको छ ।
लुम्बिनीबाट गिरफ्तार गरिएका मध्ये जगन्नाथ यादव, शिवशंकर लोध, शिवचन्द्र पाल, जुगानी लोध, शिवचन्द्र पासी, सुरेश लोध, विजय कुमार लोध, मनोज कुमार गुप्ता, सुन्दर यादव, विरेन्द्र मौर्या, जुगानी लोधलाई पक्राउ परेको ३२ घन्टा पछि छाडिएको जनाईएको छ । यसैगरी सर्लाहीबाट गिरफ्तार गरिएका धर्मलाल राय, रवीन्द्र मण्डल, राजेन्द्र राय, शम्भु कुमार यादव, सुरेश राय, पवन ठाकुर, उपेन्द्र राउत, होस नरायण पटेल, दिनेश राय, रंगीलाल ठाकुर, सुनील कुमार झा र विजय यादवलाई ७ दिनको म्याद थप गरिएको गठबन्धनका सह–संयोजक महतोले जानकारी दिएका छन् ।
सर्लाहीको सिसौटिया गाउँमा शनिबार नै सरसफाई अभियानको विषयमा छलफल गर्न जुटेका बखत पक्राऊ परेका १२ जनामाथि सार्वजनिक अपराध बारे अनुसन्धान गर्न थुनामा राख्न ७ दिनको म्याद थप गरिएको छ ।