काठमाण्डौ, ९ जेठ । संघीय गठबन्धनले आइतवार गौशाला र जोपाटीबाट विशाल जुलुस प्रदर्शन गरेका छन् ।
दुवै स्थानबाट निकालिएको जुलुस चावहिल चोक पुगेर विरोधसभामा परिणत भएको थियो । जुलुसमा स्थानीय बासिन्दाको व्यापक सहभागिता रहेको थियो । जोरपाटीमा आयोजित जुलूस संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा निकालिएको थियो ।
जुलुसमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, लिम्बूवानका कुमार लिङ्देन, जनमुक्तिका परशुराम तामाङ, धनीराम थारु लगायतका नेताहरु सहभागी छन् । गौशालाबाट निकालिएको जुलुसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल कुमार झा, लगायतले नेतृत्व गरेको नेताहरुको सहभागिता रहेको छ ।
विरोध सभाका वक्ताहरुले सरकारले वार्ताको माहोल बनाउँदासम्म वार्ताको कुनै औचित्य नभएको भन्दै माग पूरा नहुदाँसम्म आन्दोलन नरोकिने उद्घोष गरे । आफूहरु वार्ताकै माधयमबाट समाधान चाहनेको भन्दै वक्ताहरुले सार्थक वार्ताका लागि सरकार जिम्मेबार र गम्भीर हुनुपर्नेमा जोड दिए ।
गठबन्धनलेसोमबार कीर्तिपुरको नयाँ बजारमा विरोध सभा गर्ने कार्यक्रम रहेको छ । गठबन्धनको आन्दोलनमा पछिल्लो समय काठमाडौंको स्थानीय बासिन्दाको समेत सहभागिता बढ्दै गएको छ । संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित (शिल्पी), महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः, मुश्लिम लगायतका दल तथा संगठन आबद्ध रहेका छन् ।
यसैगरी जोपाटीबाट राष्ट्रिय मधेश समाजवादी पार्टीको व्यानरमा जुलुस निकालिएको छ । उक्त जुलुस केन्द्रीय प्रवक्ता केशव झा, सांसद दिनेश साह, धर्मेन्द्र साह, केन्द्रीय सदस्य सुरेन्द्र मण्डल, प्रदिप मण्डल, युवा लिगको केन्द्रीय उपाध्यक्ष मुकेश कर्ण, सप्तरी मोर्चाका संयोजक समेत रहेका पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डललगायतका नेताहरु सहभागी भएका थिए ।