सुनसरी, ९ जेठ । वर्तमान राज्य ब्यबस्थाको नजरमा प्रेस जगत उपेक्षित भएपनि समाज परिबर्तनकोलागि पत्रकारिता बैकल्पिक शक्ति भएकोले संक्रमणकालीन अवस्थामा पत्रकारहरुले जिम्मेवारीपूर्ण ढङ्गले कलम चलाउनुपर्ने कुरामा संघीय समाजबादी फोरम नेपालका स्थानीय नेताहरुले जोड दिएका छन ।
शनिबार इटहरीमा संघीय प्रेस फोरम सुनसरीको जिल्ला सम्मेलन उद्घाटन समारोहमा उपस्थित वक्ताहरुले यस्तो धारणा ब्यक्त गरेका हुन् । संघीय प्रेस फोरमका सुनसरी संयोजक चन्दन रौनियारको सभापतित्वमा सम्पन्न प्रथम जिल्ला भेलालाई सुनसरीको आदिवासी जनजाति महासंघको सभाकक्षमा उपस्थित सम्वोधन गर्दै प्रमुख अतिथि संघीय सामाजवादी फोरम नेपालका सुनसरी सचिव ताजुव लिम्बु, जिल्ला सदस्य बिना तामाङ, पार्टीका इटहरी अध्यक्ष राजकुमार गुरुङ, संघीय प्रेस फोरमका केन्द्रीय उपाध्यक्षद्धय आतिस मिश्र र पीबी दियाली, मोरङ अध्यक्ष नारायण राई लगायतका बक्ताहरुले पहिचान सहितको संघीय राज्यब्यबस्था स्थापना नभइञ्जेलसम्म पत्रकारहरुले निर्धक्कसँग समाचार लेख्न नसक्ने भन्दै आन्दोलनकारी संघीय गठबन्धनको पक्षमा कलम चलाउन आग्रह गरेका छन ।
जिल्ला भेलाको बन्द शत्रबाट दुहबीका पत्रकार चन्दन रौनियारको अध्यक्षतामा १४ सद्स्यीय संघीय प्रेस फोरम सुनसरीको गठन भएको छ । उपाध्यक्षमा धरानका पुराना पत्रकार प्रविण राई, सचिवमा इटहरीकी पत्रकार महिला अम्बिका दर्नाल, सह–सचिवमा धरानको बिश्वस्त सूत्र साप्ताहिकका पत्रकार रिमेश श्रेष्ठ, कोषाध्यक्षमा उद्घोष दैनिकका पत्रकार प्रेमप्रसाद गिरी रहेका छन ।
यसैगरी सदस्यहरुमा मुना थापा, पुनम बिक, जुली शंकर, मान्यता(मुन्नी) साह, आरती चौधरी, सौरभ बिक, सेम्वाङ याक्खा, प्रकृति रौनियार र एलिसा रेग्मी रहेका छन् । सुनसरीमा पत्रकारिताको विकास र पत्रकारहरुको क्षमता बृद्धिकालागि चाँडै आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिने नवगठित समितीका अध्यक्ष चन्दन रौनियारले बताए ।