काठमाडौं, ४ जेठ । संघीय गठवन्धनको आह्वानमा गरिएको बालुवाटार घेराउका क्रममा मङ्गलवार समेत प्रहरीले दमन गरेको छ । दमनका क्रममा झडप हुँदा केही आन्दोलनकारी घाइते भएका छन् ।
निषेधित क्षेत्र तोड्न खोज्दा आन्दोलनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । जारी गरिएको संविधानप्रति असहमती जनाउँदै आएका असन्तुष्ट दलहरु सम्मिलित संघीय गठबन्धनले तेस्रो दिनको आन्दोलनलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रित गरेको छ । सर्वसाधारण बढ्दो ट्राफिक जामले गर्दा जनताको पीर मर्कालाई मध्यनजर गर्दै गठबन्धनले आन्दोलनलाई बालुवाटार केन्द्रित गरेको हो । यस अघि आइतबार र सोमबार सिंहदरबार क्षेत्रमा प्रदर्शन तथा धर्ना जारी राखेका थिए ।
शान्तिपूर्ण आन्दोलनमा गरिएको प्रहरी हस्तक्षेपका कारण आन्दोलनकारीहरु थप आक्रोशित भएका छन् । संविधान पुनर्लेखनमार्फत पहिचानको आधारमा संघीय राज्यको नामाकरण, समानुपातिक समावेशी र पूर्ण धर्म निरपेक्षताको माग गर्दै ३० वटा संगठनहरु सम्बद्ध संघीय गठबन्धनले संघर्षका कार्यक्रमलाई निरन्तरता दिएका छन् । आन्दोलन स्थलमा संख्यामा प्रहरी पचिालन गरिएको छ ।