राजविराज, ४ जेठ जिल्लामा सुरक्षा ब्यवस्था चुस्त राख्न नेपाल र सशस्त्र प्रहरी तैनाथ रहेको अवस्थामा त्यसलाई चुनौती दिंदै भारतीय कुख्यात अपराधीहरु तीन दिन–रात सप्तरीमा हतियारसहित घुमफिर गरेको रहस्य सार्वजनिक भएको छ ।
चार दिनअघि सुपौल जिल्ला अन्तर्गत करजाईन प्रहरीले तीन जना भारतीय अपराधीहरुलाई पक्राउ गर्न सफल भएपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।
कान्तिपुर दैनिकका पत्रकार जितेन्द्र खड्गाको हत्याका मुख्य योजना बनाई ती भारतीय अपराधी हतियारसहित तीन दिन सप्तरीको भारदह–राजविराज क्षेत्रमा बसेका थिए । तर, अपराधीको योजना सफल हुन नसकेपछि बिहार फर्किने क्रममा उनीहरु भारतीय प्रहरीको गिरफ्तमा परेका हुन् । पक्राउ पर्नेमा कुख्यात भारतीय अपराधी सोनु सिंह, सत्यम र हिमांशु छन् ।
‘पक्राउ परेका भारतीय कुख्यात अपराधी सोनु सिंहसहितकाले सप्तरीका पत्रकार जितेन्द्र खड्गाको हत्या योजना बनाई सप्तरी आएका थिए ।’
पक्राउ परेकाहरुले भारतीय प्रहरीसमक्ष नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकारसमेत रहेका खडगा हत्याको योजनासहित तीन दिन नेपालको सप्तरी क्षेत्रमा हतियारसहित घुमफिर गरेको भारतीय प्रहरी सुपौलका एसपी डा. कुमार एकलेले बताए ।
‘सप्तरीको भारदह घर भएका खडगालाई हत्या गर्न खटिएका कन्ट्रयाक्ट किलरहरुले १० लाखको सुपारी लिएको रहेछ’, भारतीय प्रहरीसमक्ष दिएको बयानबारे जानकारी गराउँदै भारतीय सञ्चारमाध्यमहरुलाई एसपी एकलेले भनेका छन्, ‘तीन दिनसम्म खडगालाई घरदेखिनै पछ्याइएको र नसकेपछि भारत आउने क्रममा चेकजाँच गर्दा हतियारसहित पक्राउ परेको हो ।’
तीनै जना खडगालाई हत्या गरिदिए वापत दश लाखको सुपारी लिएको एसपी एकलेले बताए । पक्राउ परेका अपराधीहरु भाग्न खोज्दा पुलिस थाना कर्जाइनका थानेदार उदयकुमार यादव नेतृत्वको टोलीले पक्राउ गर्न सफल भएको हो । उनीहरुको साथबाट ए.के. ४७ थान १, थ्री नट थ्री राइफल थान १ र इटालियन पिस्टन थान १ वरामद गरेको छ ।
पक्राउ परेका तीनै जना बिहारको सिमाञ्चल र मिथिलाञ्चल क्षेत्रका कुखियात अपराधी रहेको र निजहरुमाथि हत्या, अपहरण र बैंक लुटपाटका ४० भन्दा बढी मुद्दा दर्ता रहेको एसपी एकलेले बताए ।
यस सम्बन्धमा भारतीय प्रहरीसँग थप जानकारी लिने काम भइरहेको सप्तरीका प्रहरीका प्रवक्ता डीएसपी दानसिंह कार्कीले बताए ।
‘सुरक्षा प्रत्याभूति हुनुपर्छ’
हत्या योजना बाहिरिएपछि सप्तरीका पत्रकारहरुले पत्रकार खडगालाई सुरक्षा ब्यवस्था प्रदान गर्न स्थानीय प्रहरी–प्रशासनसमक्ष आग्रह गरेका छन् । पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवण देव नेतृत्वको पत्रकारहरुको एक टोलीले सप्तरीका डीएसपी दानसिंह कार्कीलाई भेटेर पत्रकार खडगालाई सुरक्षा प्रदान गर्न आग्रह गरेका हुन् ।
पत्रकारहरुले घटना घटाउन बनाईएको योजनाबारे पनि भारतीय प्रहरीसित आवश्यक सोधबुझ गर्नसमेत प्रहरीसमक्ष आग्रह गरेका छन् ।