राजविराज, ३ जेठ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर–७ कठौना बजार स्थित प्रहरी चौकी अगाडि खुल्लेआम ठगी भईरहँदा समेत प्रहरी मुकदर्शक बनेका छन् ।
जण्डिस रोग निको पारिदिने भन्दै सर्वसाधारणबाट पाँच हजारदेखि पच्चीस हजारसम्म एक नक्कली वैद्यले ठगीको धन्दा गरिरहँदा पनि प्रहरीले कार्वाही गर्न सकेको छैन । आफूलाई वैद्य बताउँदैआएका स्थानीय हरि प्रसाद पालले विगत एक दशकदेखि जण्डिस रोग निको पारिदिने भन्दै सर्वसाधारणलाई ठग्दैआएका छन् । प्रहरी चौकी कठौनाको मुख्य गेटमै उनले आफ्नै घरमा खुलेआम धन्दा गर्दै आएका छन् ।
जडीबुटीबाट जण्डिस रोग ग्यारेन्टिका साथ निको पारिदिने नाममा उनले दैनिकजसो चार–पाँच जनासँग रकम असुल्ने गरेका छन् । आफूलाई वैद्य बताउने पालले ईलाज गराउन आएका विरामीको आर्थिक हैसियत अनुसार रकम असुली गर्दैआएको पीडितहरुको बताउँछन् ।
पछिल्लो पटक धनुषाको गोदार–७ का दिलिप जयसवाल समेत नक्कली वैद्यको फन्दामा परे । जण्डिसबाट ग्रसित भएका उनी आज भन्दा करिब २०–२५ दिन अघि पालकहाँ ईलाज गराउन आएका थिए । पहिलो पटक उनले अन्ध्यारो कोठामा लगेर आफूलाई औषधी खुवाएको बताउँदै उनले भने ‘औषधी खुवाएपछि पाँच हजार रुपैयाँ माग गरे तर मैले तत्काल २ हजार ५ सय मात्र तिरेँ ।’ अर्को पटक जाँदा वैद्यको काम गर्ने पालले आफूसँग १५ हजार माग गरेको उनले दुखेसो पोखे ।
मागेको रकम दिन नसक्दा उल्टै धम्क्याउँदै ‘ईलाज गर्दिन’ भन्दै पठाई दिएको बताउँदै पीडित जयसवालले भने ‘उनले अहिलेसम्म न त मेरो उपचार गर्न मानेको छ न त पैसा नै फिर्ता दिन ।’ आफू जस्तै सयौं व्यक्तिबाट पालले ठगी गरेकोले उनलाई कार्वाही हुनुपर्ने उनले बताए ।
स्थानीय वासिन्दा अमरकान्त गुप्ताका अनुसार पालले जडीबुटीमा एक प्रकारको कीरा मिसाएर जण्डिसका विरामीलाई खान दिने गरेका छन् । विरामीबाट शुरुमा तीनदेखि पाँच हजार लिने गरेको र सोही अनुपातमा प्रत्येक पटक रकम असुल्दैआएका छन् । कम खर्चमा रोग निको हुने विश्वासका साथ उनी कहाँ जाने गरेका विपन्न वर्गका विरामीहरुबाट समेत चर्को रकम माग गर्ने गरेका कारण रुँदै घर फर्कने गरेको स्थानीयवासिन्दाले सुनाए ।
जयसवालको उपचार गरिदिनु वा रकम फिर्ता गरिदिन आग्रह गर्दा उल्टै उनले ‘मलाई कसले के गर्छ ? म उपचार गर्दिन, जहाँ जानु छ जाउ’ भन्दै आफूलाई समेत धम्क्याएको गुप्ताले बताए । मेडिकल सम्वन्धि शैक्षिक योग्यता नभएका व्यक्तिले प्रहरी चौकीको गेटमै प्रहरीलाई समेत चुनौती दिएर गैरकानूनी धन्दा गर्दैआएकोले यसतर्फ सम्वन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने उनले बताए ।
सामान्यतया चिकित्सकले जाँच शुल्क ३ सयदेखि ५ सयसम्म लिने गर्छन् तर पालको जाँच शुल्क तीन हजारबाट शुरु हुने गर्छ । यसरी सर्वसाधारणसँग ठगी गर्दै आएका पाललाई गेटमै रहेको प्रहरी चौकी समेत चुप लाग्नु रहस्मय रहेको स्थानीयहरु बताउँछन् ।
वैद्य पालसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेन ।