राजविराज, ३१ वैशाख । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले अपराधको मुख्य कारक मादक पदार्थ सेवन रहेको भन्दै खुलेयाम बिक्री वितरणमा रोक लगाउनुपर्ने बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा शुक्रवार सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजले आयोजना गरेको अपराध अनुसन्धान सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । भारतको विहारमा हालै लागु पदार्थमा प्रतिबन्ध लगाईएको चर्चा गर्दै उनले भने ‘भारतमा लागु औषध विक्री र सेवनमा प्रतिवन्ध लगाएको छ तर हाम्रो देशमा भने खुलेयाम मादक पदार्थ बिक्री वितरण भइहेको छ ।’ यसरी खुलेयाम भइरहेको लागु औषध बिक्रीलाई रक्सीलाई तत्काल व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए ।
‘समाजमा हुने अधिकांश अपराधको मुल कारण लागु पदार्थ सेवन हो, खुला सिमानाका कारण सिमावर्ती क्षेत्रमा हुने लागु पदार्थको ओसारपोसार प्रहरी एक्लैले नियन्त्रण गर्न नसक्ने भएकोले आम नागरिकको सहयोग र सक्रियता आवश्यक छ ।’ एउटा प्रहरीले गरेको गल्तीका कारण सङ्गठनलाई नै बदनाम गर्न आग्रह गर्दै एआइजी शर्माले दोषी प्रहरीलाई आम नागरिक भन्दा बढी कार्वाही हुने गरेको प्रष्ट पारे ।
‘प्रहरी पनि यसै समाजबाट आएको तपाईहरुकै छोरा भतिजा हो’ उनले भने ‘प्रहरीलाई जिम्मेवारी बोध गराउनु पनि नागरिकको कर्तव्य हो ।’ घुस लिने र दुवै अपराधी रहेको भन्दै शर्माले प्रहरी दोषी भेटिए तत्काल हामीलाई फोन गर्नुुस्, प्रहरी दोषी रहेको प्रमाणित भए हदैसम्मको कार्वाही हुन्छ ।’
प्रहरीलाई मानव अधिकार उल्लंघन नगर्न, सर्वसाधारणको गुनासो तत्काल सुन्न, पीडितलाई सहज न्याय दिलाउन जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । मधेश आन्दोलनमा भएको कमीकमजोरीलाई दोहोरिन नदिन र मानव अधिकारको पूर्ण पालना गर्न कार्यक्रममा उपस्थित सगरमाथा अञ्चलका ६ ओटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन समेत दिए । कुनै पनि आन्दोलनमा मानवीय क्षति हुन नदिनका लागि नेपाल प्रहरी सचेत रहेको भन्दै आफ्नो अधिकार माग्दा अरुको अधिकार हनन् नहोस् भन्नेतर्फ सचेत रहन आम नागरिकसँग आग्रह समेत गरे ।
पूर्वाञ्चलका प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेले मानव अधिकारको हनन् हुन नदिनका लागि प्रहरी सचेत रहेको बताउँदै अपराध नियन्त्रण र आम जनतालाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने बताए । संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवले मधेश आन्दोलनका क्रममा प्रहरीद्वारा मानव अधिकारको घोर उल्लंघन भएको भन्दै आगामी दिनहरुमा यस्ता गतिविधि नदोहोर्याउन आग्रह गरे । स्थानीय प्रशासन सेवा ऐनमा समेत विशेष परिस्थितिमा घुँडाभन्दा तलमात्र गोली चलाउन पाउने कुरा उल्लेख रहे पनि सप्तरीमा शहादत भएकाहरुको अधिकांशको टाउको र छातीमा गोली हानिएको तथा आफ्नै घरमा बसिरहेका सर्वसाधारण जनतामाथि समेत गोली चलाएको भन्दै प्रहरीलाई मानव अधिकारसम्वन्धि तालिम आवश्यक रहेको बताए । 
कार्यक्रममा सगरमाथा अञ्चलका प्रहरी प्रमुु्ख उत्तम वहादुर सिंह, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादव, महिला अधिकारकर्मीहरु आभासेतु सिंह, उमा पोखरेल, अनिता देवकोटा, व्यवसायी जग्गु अर्याल, पत्रकार सुधा देव, युवा नेता नवनित झा लगायतले गुनासो राखेका थिए ।
सोही कार्यक्रममा कोचाबखारी–६ कि पीडित रुपा मेहताले जिल्ला प्रहरीमा जाहेरी समेत नलिएको भन्दै एआइजी समक्ष गुनासो गरे ।