राजविराज, ३१ वैशाख । सप्तरीको छिन्नमस्ता गाविसमा आयोजना हुन लागेको लक्षचण्डी रुद्र महायज्ञ सम्पादन समितिले हालसम्मको आय–व्यव विवरण सार्वजनिक गरेको छ ।
छिन्नमस्ता शक्तिपीठ परिसरमा एक कार्यक्रमको आयोजना गरि सम्पादन समितिले ध्वजारोहन एवम् भूमी पूजन कार्यक्रमसम्मको आय–व्यय सार्वजनिक गरेको हो । हालसम्म ७ लाख ७१ हजार ५ सय ८६ रुपैयाँ खर्च भएको महायज्ञ सम्पादन समितिका सदस्य बुचन झाले जानकारी दिए । उनका अनुसार विभिन्न श्रोतबाट कुल ३ लाख ६३ हजार ९ सय ६९ रुपैयाँ प्राप्त भएको तथा विभिन्न पसलहरुलाई भुक्तानी दिन ४ लाख ७ हजार ६ सय १७ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । समितिको खातामा हाल ४ हजार रुपैयाँ मात्र मौज्दात रहेको उनले बताए ।
शक्तिपीठका पीठाधीश समेत रहेका लक्षचण्डी रुद्र महायज्ञ सम्पादन समितिका संयोजक महाकान्त ठाकुरले करिब २५ करोडको लागतमा चैते रामनवमीको अवसर पारेर आयोजना हुन लागेको महायज्ञकालागि तयारी तीब्र पारिएको बताए । शक्तिपीठबाट महायज्ञको रथयात्रा निकालिने तयारी भइरहेको भन्दै देशका ७५ वटै जिल्लामा रथयात्रा पुग्ने उनले जानकारी दिए । महायज्ञबाट सप्तरीवासी हरेक दृष्टिकोणले लाभान्वित हुने भन्दै आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन पीठाधीश ठाकुरले आग्रह गरे ।
कार्यक्रममा स्थानीयवासिन्दाहरुले महायज्ञ सम्पादन समितिको काम कार्वाहीप्रति असन्तुष्टि जनाएका छन् । समितिका सचिव सञ्जय झाले आर्थिक पारदर्शिता तथा आय–व्यय विवरण प्रति असन्तुष्टि जनाउँदै राजिनामाको समेत घोषणा गरे ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, शक्तिपीठ संरक्षण सम्वद्र्धन समितिका कार्यवाहक अध्यक्ष रामनारायण यादव, नटखट दैनिकका प्रकाशक सुखराम यादव, संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, लालापट्टीका निवर्तमान अध्यक्ष निर्मल यादवलगायतले मन्तव्य व्यक्त गरे ।