वीरगञ्ज, २१ फागुन । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मोर्चाको मागप्रति सरकार अझैं गम्भिर नदेखिएकोले देश गम्भीर मुठभेडमा जाने खतरा बढेको बताएका छन् ।
बाराको गंजभावनीपुरमा शुक्रवार आयोजित आमसभा एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । ‘सरकारले मोर्चासँग राम्रो व्यवहार र संवाद गरेको छैन, संवादमा अविश्वास र संयमको अवस्था घटेको छैन’ उनले भने ‘मोर्चाको आन्दोलन तुहियो भने भ्रम नहोस यो शान्तपन आगामी आन्दोलनको तयारी हो ।’
प्रधानमन्त्री केपी ओलीले संघीयताको सिमाङ्कन, मोर्चाको आन्दोलन र नाकाबन्दीबारे कमल थापालाई एक सदस्यीय संयन्त्र घोषणा गरी भारतीय पक्षलाई आँखामा छारो हानेको अध्यक्ष ठाकुरले आरोप लगाए । बार्ता र संवादबाटै समाधान होस् भनी मोर्चा गम्भिर रहेको बताउदै सत्ता पक्ष एवम् प्रमुख दल आन्दोलन तुहाउने फोहरी खेलमा लागेको आरोप लगाए ।
तमलोपाका सह–अध्यक्ष हृदयेश त्रिपाठी, केन्द्रीय सदस्यहरु जितेन्द्र सिंह, नवलकिशोर सिंह, परमहंस केसरी, श्याम गुप्ता, रामचन्द्र सिंह, महिला नेतृ एवम् तराई मधेस महिला संघकी केन्द्रीय सदस्य पिंकी यादव, महिला संघ पर्साकी अध्यक्ष रेखा साहलगायतकाले मन्तव्य व्यक्त गरे । तमलोपा बारा प्रवक्ता अरुण सिंह र युवा नेता दाउद अजादले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य मुमताज अंसारीले गरेका थिए । 
महागढीमाई नगरपालिका वडा नम्वर–३ गंजभावनीपुरमा पार्टी प्रवेस एवं आमसभा सम्पन्न भएको छ । स्थानिय अगुवा एवं गंजभावनीपुरका निर्वतमान अध्यक्ष हृदय प्रसाद जयसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी २ सय ५० जना भन्दा बढी तमलोपामा प्रवेश गरेको छन् ।
यसैबिच तमलोपा अध्यक्ष महन्थ ठाकुर र सह–अध्यक्ष हृदेश त्रिपाठीले प्रसिद्ध गढीमाई मन्दिरमा समेत पुजापाठ गरेका थिए । गंजभावनीपुर उद्योग वाणिज्य संघका पदाधिकारी एवं तमलोपा अध्यक्ष ठाकुर बीच भेटघाट समेत भएको थियो । भेंटघाटका क्रममा व्यवसायीहरुले आन्दोलनको कारण आफुहरुको उद्योगधन्दा चौपट भएको र बैंकको चर्को व्याजको मार खेपिरहेकोमा तमलोपा अध्यक्ष ठाकुरको ध्यानाकर्षण गराए । जवाफमा ठाकुरले आफु र मोर्चा समेत यो बिषयमा गम्भिर रहेको बताए ।