राजविराज, १० फागुन । स्वतन्त्र मधेश गठबन्धनका सप्तरी संयोजक सुरेन्द्र मधेशीसहित ६ जनाको काठमाण्डौ विशेष अदालतबाट म्याद गरिएको छ ।
जिल्लाको भारदह र राजविराजबाट पक्राउ परेका ६ जनाको १० दिनका लागि म्याद थप गराईएको हो । भारदह स्थित वि.पी. माध्ययमिक विद्यालयमा गठबन्धनद्वारा शुक्रवार आयोजित कार्यक्रम स्थलबाट प्रहरीले सब–इञ्जिनियर श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई पक्राउ गरेका थिए । उनीहरुलाई शुक्रवारै राती म्याद थप गराउनकालागि जिल्ला प्रहरी कार्यालयले काठमाण्डौ लगेका थिए । तीनजनालाई आइतवार विशेष अदालतबाट अनुसन्धानका क्रममा दश दिनको म्याद थप गरिएको जनाईएको छ । म्याद थप गराई उनीहरुलाई पुनः सप्तरी नै ल्याईएको प्रहरी श्रोतले जनाएको छ ।
यसैगरी आफ्ना सहकर्मी रिहाई माग गर्दै राजविराजमा प्रदर्शन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीद्वारा आइतवार पक्राउ गरेका सात जनामध्ये गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी, सदस्यद्वय बुधेश्वर मण्डल र महेश शर्मालाई आइतवारै राती म्याद थप गराउनकालागि काठमाण्डौ लगिएको छ । सोमवार अदालतमा पेश गरेपछि उनीहरुको समेत म्याद थप गरिएको छ ।
सप्तरी प्रहरीले पक्राउ गरेका गठबन्धनका प्रचार–प्रसार विभागका संयोजक चन्देश्वर मण्डल (किसान), भीँड व्यवस्थापन समितिका संयोजक मों उस्मान मियाँ, गठबन्धनका सदस्यहरु बिहारीलाल साह, अनिल ठाकुरलाई भने जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुलाई समेत म्याद थप गराउनकालागि काठमाण्डौ लग्ने तयारी भईरहेको जनाईएको छ ।