सप्तरी, ९ फागुन । सिंचाइमन्त्री उमेशकुमार यादवले अधिकारकालागि आन्दोलन स्वाभाविक भए पनि तर देश टुक्र्याउने कुरा क्षम्य नरहेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ सप्तरीद्वारा आइतवार राजविराज स्थित सिंचार्ई कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । अलग मधेशको कुरा गर्नेहरु देशद्रोही रहेको भन्दै त्यस्ता बिचारधारका व्यक्तिहरुलाई प्रश्रय दिन नमिल्ने प्रष्ट पार्दै उनले भने ‘हक अधिकारकालागि आन्दोलन हुनु स्वाभाविक हो तर देश विखण्डनको कुरा गर्नेहरुको विषयमा सरकार चुप लागेर बस्ने छैन ।’
वाक स्वतन्त्रताको नाममा जे पाए त्यही बोल्ने छुट नरहेको भन्दै मन्त्री यादवले विखण्डनकारी तत्वले सप्तरीसहित मधेसका केही जिल्लामा आफ्ना गतिविधि तिब्र बनाएकोले सरकार यस्ता गतिविधिहरुप्रति गम्भीर रहेको बताए । ‘संविधान विपरित जाने कसैलाई छुट छैन, नियम कानून मिच्नेलाई कार्वाही गर्न वर्तमान सरकार प्रतिवद्ध छ’ एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहेका सिंचाई मन्त्री यादवले भने ‘राष्ट्रिय एकता, अखण्डतामा खलल पार्ने गतिविधि नगर्न समेत सम्बन्धित पक्षलाई सचेत गराउन चाहन्छु ।
मन्त्री यादवले विहान सप्तरीको भारदहस्थित प्रसिद्ध कंकालिनी मन्दिरको निर्माणाधिन पोखरीलाई व्यवस्थित बनाउन र सोही ठाउँमा रहेको महुली नदीमा पुल निर्माण गर्ने कार्यको निरीक्षण गरेका छन् । मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सप्तरी भारदहका राजीव राउत र पोर्ताहाका रामकृष्ण राउतका परिवार मन्त्री यादवले भेंटघाट गरेको जनाइएको छ ।
यसैगरी आइतवारै उनले राजविराज नगरपालिका वडा नम्वर–६, हाटी, दिघवा, हर्दिया लगायतका स्थानहरुमा आयोजित कार्यक्रमहरुमा सहभागी भएका छन् । मन्त्री यादव आइतवारै काठमाण्डौ फर्किने क्रममा हरिहरपुर गाविसको परिषदको समेत उद्घाटन गरेका छन् ।