राजविराज, ९ फागुन । नेपाली चलिचित्र ‘भैरव’मा मधेस र मधेसी विरोधी विषयवस्तु समावेश गरिएको भन्दै सप्तरीमा उक्त चलचित्रको पोष्टर जलाईएको छ ।
मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले राजविराज स्थित शिवशंकर सिनेमा हलमा प्रदर्शन भइरहेको उक्त चलिचित्रको पोष्टर जलाईएको हो । विगत दुई दिनदेखि हलमा प्रदर्शनमा रहेको उक्त चलचित्रको पोष्टर जलाउनुका साथै हलका प्रोप्राइटरलाई ‘भैरव’ प्रदर्शन नगर्न चेतावनी दिएका छन् ।
मोर्चाका नेताहरुले उक्त फिल्म प्रदर्शनमा रोक लगाईएपछि हलमा अर्कै फिल्म प्रदर्शन गर्न थालिएको छ । उक्त फिल्ममा मधेश र मधेशी जनतालाई होच्याएर प्रस्तुत गरिएको तथा मधेशीको स्वाभिमानमाथि समेत चोट पुर्याउने काम भएकोले ‘भैरव’को प्रदर्शनमा रोक लगाईएको छ ।
संघीय समाजवादी फोरमका राजनीतिक समितिका सदस्य एवम् सलहेश क्षेत्र ईञ्चार्ज शैलेन्द्र प्रसाद साह, सदभावना पार्टीका केन्द्रीय सदस्यद्वय दिनेश यादव, दिपेन्द्र चौधरी, युवा नेताहरु दिनेश कुमार यादव, युसुफ अलि, नवनित झालगायतको सहभागिता रहेको थियो ।