राजविराज, ८ फागुन । आफ्ना समर्थकहरुलाई पक्राउ गरेकोमा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले जिल्ला प्रहरी कार्यालयलाई ग्रिटिङ्स सहित गुलाबको फूल पठाएका छन् ।
डा. राउतले आफ्ना समर्थक मार्फत जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुखलाई ग्रिटिङ्स सहित गुलाबको फूल पठाएका हुन् । गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशीको नेतृत्वमा युवाहरुको एक समूहले हातमा गुलाबको फूल र ग्रिटिङ्स लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
उनीहरुले सप्तरीका प्रहरी प्रमुख भीम ढकाललाई भेंट्न चाहेका थिए तर उनले भेंट्न अस्वीकार गरेका थिए । प्रहरी निरीक्षक सुरज खड्काले ‘एसपी साब, बाहिर जानुभएको छ’ भन्दै बाहिर राखिदिनु भन्दै अस्वीकार गरेको अभियानी भुलाई रामले जानकारी दिए ।
प्रहरीले भारदह स्थित वि.पी. माध्ययमिक विद्यालयमा गठबन्धनद्वारा आयोजित कार्यक्रम स्थलबाट शुक्रवार प्रहरीले सब–इञ्जिनियर श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई पक्राउ गरी हिरासतमा राखेको छ । 