राजविराज, ८ फागुन । नेपालका दुई नेताका छोरासहित भारतको दिल्लीमा पक्राउ परेका दुई दर्जन मधेसी विद्यार्थीहरुलाई अझै रिहा गरिएको छैन ।
पक्राउ पर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवम् संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका प्रसाद यादवका छोरा सूर्यकिरण यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाको छोरा उज्जवल झासहित विकास मिश्रा, सञ्जय यादव, प्रवीण कर्ण, अभिषेक मिश्रालगायतका रहेका छन् । विद्यार्थी नेताहरुलाई दिल्ली पुलिसले शुक्रवार पक्राउ गरि आफ्नो हिरासतमा राखेका छन् ।
भारतको ६ दिने भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्ली स्थित इन्दिरा गाँधी विमानस्थलबाट जाने क्रममा मधेशी विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । प्रजातन्त्र दिवसकै दिन भारत भ्रमणमा गएका प्रधानमन्त्रीलाई दिल्ली पुग्ना साथ कालो झण्डा देखाउनु साथै दिल्ली स्थित नेपाली दुतावासले आयोजना गरेको शुभकामना कार्यक्रममा सम्बोधन गर्न जाँदा समेत प्रधानमन्त्रीलाई दुतावासकै अगाडि मधेसी विद्यार्थीहरुले कालो झण्डा देखाई कडा विरोध गरेका थिए ।