राजविराज, ७ फागुन । जारी मधेश आन्दोलनका घाइते राजविराज–७ का भुवनेश्वर साह ‘बेलचन’लाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
गत मंसिर ५ गते सप्तरीको रुपमा आयोजित राजमार्ग केन्द्रित आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भएका थिए । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब डेढ महिनासम्म उनको सघन उपचार गरिएको थियो । पेटमा गोली लागेका उनको सानो आन्द्रा काटेर फालिएको छ ।
हिँडडुल पनि गर्न नसक्ने अवस्थामा रहेका उनलाई बीच–बीचमा जँचाउनकालागि धरान गईराख्नुपर्न पर्ने हुन्छ । प्रत्येक पटक धरान जाँदा औषधीलगायतका खर्च धान्न आन्दोलनका घाइते बेलचनलाई समस्या भएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि हालसम्म आफू राजविराजबाट तीन पटक धरान गएको जानकारी दिँदै उनले भने ‘अस्पतालबाट डिस्चार्ज भएपश्चात औषधीलगायतका खर्चहरु आफैं तिर्नुपरेको छ ।
धरानमा उपचारार्थ रहँदा त्यहाँ उपलब्ध नभएका औषधीहरु किन्नमा हालसम्म निजी ८० हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए । फेरी धरान जान लागेका उनलाई आर्थिक खर्च जुटाउन समस्या भएको छ । राजविराजमा उठाउन बाँकी रहेको साउण्ड सिस्टम र टेण्ट भाडा वापतको रकम समेत संकलन नहुँदा आफू बिचल्लीमा परेको बेलचनले बताए । बाँकी रहेको रकम असुली गर्न बाध्य भएर सिटी रिक्सा भाडामा लिएर घर–घर धाउने गरेको उनले बताए । साउण्ड सिस्टम र टेण्ट सेवा वापतको रकम उपलब्ध गराई दिन समेत उनले सञ्चारमाध्यमहरु मार्फत आग्रह गरेका छन् ।