राजविराज, ७ फागुन । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले जारी मधेश आन्दोलनका क्रममा भएका कमजोरीहरुलाई समिक्षा गर्दै सशक्त आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा वौद्धिक समाज सप्तरीद्वारा शुक्रवार राजविराजमा आयोजित ‘२००७ सालको जनक्रान्तिको लक्ष्य र वर्तमान अवस्था’ विषयको विचार गोष्ठिमा बोल्दै उनले यस्तो आवश्यकता औंल्याएका हुन् । पहिलो र दोस्रो आन्दोलनमा मधेशी जनताले धोका पाएको र २०७२ को जारी तेश्रो आन्दोलनमा धोका पाएकोले मधेशी जनता सचेत हुुनुपर्नेमा प्रमुख अतिथि मण्डलले बताए ।
तीन ओटै मधेश आन्दोलनमा नेताहरुको क्रियाकलापप्रति जनता असन्तुष्ट रहेको बताउँदै उनले भने ‘२००७ सालको जनक्रान्तिबाट जनताले कुनै अधिकार पाएन्, त्रिभुवन मृत्यूपछि महेन्द्रले राजनीतिक पार्टीहरुका नेताहरुलाई विभाजन गरी प्रधानमन्त्री बनाई सत्ता लिप्सामा पारेर ३४ वर्ष राज्य गरे, जनता सधैं पार्टीका नेताहरुबाट धोखा पाईराखे ।”
समाजका अध्यक्ष प्रा. अमरकान्त झाको अध्यक्षतामा आयोजित सो विचार गोष्ठिमा मधेशी निजामती कर्मचारीका अध्यक्ष अजय कुमार झा, देव नारायण यादव, कैलाश यादव लगायतका बक्ताहरुले आ–आफनो धारणा राखेका छन् । समाजका सचिव अनिलकुमार अनलद्वारा सञ्चालित उक्त कार्यक्रममा समाजका सदस्य सुगम्बर यादवले स्वागत मन्तव्य ब्यक्त गरे ।