• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नियम विपरित कार्य नगरेको गुरुङ्गको दावी

राजविराज, ६ फागुन । राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले आफूले ऐन नियम विपरित कार्य नगरेको दावी गरेका छन् ।
विहीवार पत्रकार सम्मेलन आयोजना गरी उनले आफूमाथि लगाइएका आरोपहरु निराधार रहेको दावी गरे । जारी मधेश आन्दोलनका कारण खुल्ला रुपमा परिषद् गर्न नसकिएको स्वीकार गर्दै प्रक्रियागत रुपमा नगर परिषद् सम्पन्न गरेको दावी गर्दै उनले भने ‘पुस महिनाभित्र परिषद् गर्नुपर्ने बाध्यता थियो यता मधेश आन्दोलन जारी थियो त्यसैले नगरवासीकै हितकालागि परिषद् सम्पन्न गर्यौ ।
हाल नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा रहेका कारण आर्थिक कारोबारलगायतका गतिविधिहरु प्रभावित भएको उनले जानकारी दिए । नगरपालिकामा उपलब्ध श्रोतसाधनलाई सदुपयोग गरेर आफूले काम गर्न खोजिरहेको अवस्थामा विभिन्न बाधाव्यवधान भईरहेको दावी गर्दै सबैपक्षसँग सहकार्य गरेर आफूले काम गर्न खोजेको बताए ।
यस वर्ष हालसम्म कुल १२ लाख रुपैयाँको मात्र काम भएको जानकारी उनले कर्मचारीहरु असन्तुष्ट रहेकोले आन्तरिक समस्या समाधान गर्न आफू प्रयासरत रहेको बताए । नगरपालिका लेखापाललगायतका केही कर्मचारीमाथि विभागिय कार्वाहीकालागि बढाईएको प्रक्रिया फिर्ता लिएको समेत कार्यकारी अधिकृत गुरुङ्गले जानकारी दिए ।1
पत्रकार सम्मेलन अघि उनले वातावरण मैत्री भवन, बगैंचा, सिटी हल, वाटर हार्भेस्टीङ्ग, वाटर रिचार्जिङ्गलगायतका संरचनाहरुबारे पत्रकारहरुलाई जानकारी गराएका थिए ।
यता आन्दोलनरत कर्मचारीहरुले नगरपालिकाको आन्तरिक समस्यालाई आफूहरु समाधान गर्न प्रतिवद्ध रहे पनि कार्यकारी अधिकृत गुरुङ्गले बेवास्ता गरेको बताए । कर्मचारीहरुको हक अधिकार तथा दायरालाई बेवास्ता गर्दै हैकमवादी प्रवृतिबाट उनी अगाडि बढीरहेकोले आफूहरुले त्यसको विरोध गरेको कर्मचारीहरुको भनाई छ ।