राजविराज, ४ फागुन । राष्ट्रिय खेलकुद परिषदको प्राविधिक टोलीले राजविराज स्थित राज रङ्गशालाको अवस्थाबारे अवलोकन गरेका छन् ।
परिषद्का निर्माण शाखाका ई. सञ्जीव पाठक नेतृत्वको टोलीले रङ्गशालाको पर्खाल, प्याराफिटलगायतका भौतिक संरचनाहरुको अवस्थाबारे जानकारी लिएका छन् । रङ्गशालाको अवलोकन पश्चात भावी योजना निर्माण गर्नका लागि परिषद्लाई वास्तविकता जानकारी गराउने उद्देश्यले स्थलगत अवलोकन गरिएको ई. पाठकले बताए ।
न्यूज टुडे’सँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय स्तरका खेलाडि उत्पादन गरिसकेको जिल्लाको खेलमैदानको यस्तो दुर्दशा हुनु दुर्भाग्यपूर्ण भएको बताए । राज रङ्गशाला फूटबल खेलकालागि अति उपयुक्त रहेको बताउँदै उनले भने ‘यो रङ्गशाला व्यवस्थित हुनुपर्ने थियो तर स्थानीय बेवास्ता र राज्यको उपेक्षाका कारण जर्जर अवस्था छ ।’ राष्ट्रियस्तरको नमूना खेल मैदान बनाउनकालागि जिल्लावासीको पहल आवश्यक रहेको भन्दै आफूबाट हुनसक्ने सहयोग गर्न तयार रहेको ई. पाठकले प्रतिवद्धता व्यक्त गरे ।
उक्त अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शभ्भु यादव, स्थानीय समाजसेवी शिवनारायण साह ‘सुरज’, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवलगायतको उपस्थिति रहेको थियो ।