• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘लालपुर्जा दिनै पर्छ’ भन्दै राजविराजमा झाडु जूलूस प्रदर्शन

‘लालपुर्जा दिनै पर्छ’ भन्दै राजविराजमा झाडु जूलूस प्रदर्शन
न्यूज टुडे
राजविराज, २४ जेठ ।
लालपुर्जा माग गर्दै नगरपालिकाको कार्यलयमा आमरण अनशनसहित संघर्षरत नगरबासीले विभिन्न स्वरुपको आन्दोलनलाई निरन्तरता दिदै झाडु जुलुस प्रदर्शन गरेको छ ।  ‘लालपुर्जा दिनै पर्छ’ सम्पूर्ण नगर्बासी एक हौ’ भन्ने नारा लगाउँदै राजविराजमा आइतबार उनीहरुले झाडु जुलुस प्रदर्शन गरेको हो ।
राजविराज नगरपालिकाको कार्यालयबाट निकालिएको झाडु जुलुस नगरको विभिन्न भाग परिक्रमा गरि कोणसभामा परिणत भएको थियो ।  विरोध प्रदर्शनमा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
विरोध प्रदर्शनलाई हलुवाई समाज नेपाल लगायतका विभिन्न संघसंस्थाले एक्यवद्धता जनाउँदै  झाँकीसहित झाडु  प्रदर्शन गरी समर्थन जनाएका छन् ।  
कोण सभालाई सम्बोधन गर्दै बक्ताहरुले राजविराज शहरको स्थापना कालदेखि नेपाल सरकारबाट प्रदान गरिएको विटौरी जग्गामा बसोबास गर्दै आएको राजविराजबासीहरुले निशर्त लालपुर्जा पाउनु पर्ने माग राखे । 
पटकपटक सरकार समक्ष प्रस्ताव गरिएपनि हालसम्म नेपाल सरकारले चासो नदेखाएको  गुनासो गर्दै बक्ताहरुले ‘लालपुर्जा माग गरि राजविराज नगरपालिकाको प्राङ्गणमा रिले अनशन  बस्दा समेत सुनुवाइ नभएकोले  थप दवावका लागि झाडु जुलुस गर्नु परेको बताए । 
बक्ताहरुले हकभोगको आधारमा जग्गको स्वमित्व पाउनु पर्ने माग सार्दै संघर्ष समितिले तीनसातादेखि धर्ना लगायतका विभिन्न दवाव मुलक संघर्षका कार्यक्रमलाई सरोकारवालाहरुले बेवास्ता गरेकोले थप सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । 
 उनीहरुले विटौरी जग्गाको राजस्व राजविराज नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा वितरणमा बेवास्ता गरेको भन्दै आक्रोशित पोखे ।  उनीहरुले  जेठ २९ गतेदेखि अनिश्चितकालीन बजार बन्दसहित नापी कार्यालयसहितमा समेत तालाबन्दी गरी आन्दोलनलाई  थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
१९९८ सालदेखि  बसोबास गर्दै आएको नगरबासीलाई पटकपटक आश्वासन दिएपनि हालसम्म लालपुर्जा वितरण नगरेको आन्दोलन परिचालन समितिका संयोजक  खेलानन्द दासले  गुनासो गरे ।  हकभोगको आधारमा जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने एक सूत्रीय माग राखी ३ सातादेखि विभिन्न स्वरुपको चरणबद्व दवावमुलक कार्यक्रम गर्दै आएपनि सुनुवाइ नभएको उनले बताए । 
नगरपालिकाले विटौरी कर लिदै आएपनि लालपुर्जा वितरणमा चासो नदिएको स्थानीयको आरोप छ । २०२८ सालमा राजविराज शहरको ६० विघा जग्गालाई नापी शाखाले गाउँ ब्लक दावी गर्दै श्रेस्ता कायम गरिएकोले त्यसलाई आधार मान्ने हो भनेपनि जग्गाको लालपुर्जा पाउनुपर्ने आन्दोलनकारीहरुको भनाइ छ ।
नगरपालिकामा कर बुझाएर बैंकमा जग्गा धितो राखी कारोबार हुँदै आएकोमा पछिल्लो समय  विटौरी जगाको लालपुर्जा उपलब्ध गराउने भनी सरकारले बैंकलाई देशव्यापी पत्राचार  गरेपछि बैंकले धितो बन्धक राख्न रोक लगाएको थियो । 
आन्दोलनरत नगरबासीको आन्दोलनलाई सप्तरी उधोग बाणिज्य संघलगायतका दर्जनौं संघसंस्था तथा राजनीतिक दलहरुले  प्रेस विज्ञप्ति  जारी गर्दै एक्यवद्धता जनाएको छ । पाँच हजारभन्दा बढी परिवारले हकभोग गर्दै आएको विटौरी जग्गाको लालपुर्जा उपलब्ध गराउन नागरिक स्तरबाट समेत दवाव बढेको छ । 
राजविराज नगरपालिका अन्तर्गत १० विघे ब्लक जग्गाको भने यसअघि नापी शाखाको सिफारिसमा मालपोत कार्यालयबाट जग्गाधनी पूर्जा वितरण गरेको छ । 
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गर्न देशव्यापी उर्दी जारी गरेपछि राजविराजबासी थप सशंकित भएका छन् ।