• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीमा जंगली हात्तीको बितण्डा फेरि दोहोरिएको छ । पछिल्लो पटक सप्तकोशी नगरपालिका वडा नं.३ नयाँबस्ती छेउमा बिहीबार राती जंगली हात्तीको हुल पसेर स्थानीय किसानहरुको एक बिघाजतिको जग्गामा लगाएको मकै वाली कुल्चेर नष्ट पारिदिएको छ ।

जंगली जनावरको बिध्वंशका कारण जिल्लाको पूर्बोत्तर भेगका जनता सधैं त्रसित भएर बस्नु परिरहेको छ । यस क्रममा कतिले त ज्यानै गुमाईसकेका पनि छन् । तर पीडितलाई संरक्षण गर्नेतर्फ सरकारले कुनै पनि काम नगरेको स्थानीयको गुनासो छ । किसानको बालीनालीमा जंगली हात्तीले क्षति पुर्याउँदै आएको छ । तर पीडितले त्यस बापतको क्षतिपूर्ति समेत नपाएको अवस्था छ । सरकारी निकायदेखि जनप्रतिनिधि समेतको ध्यानाकर्षण गराउँदा पनि यस समस्याको स्थायी समाधान हुन सकेको छैन । जंगली हात्तीको बथान प्रायः जसो रातको समयमा आउने र बस्तीमा पसेर क्षति पुर्याउने गरेका कारण त्यस क्षेत्रका जनतालाई राती निर्धक्क भएर निदाउन पाउने अवस्था समेत छैन । कुन बेला आक्रमणमा परिने हो भन्ने डरले उनीहरु रात्री जाग्राम बस्न बाध्य छन् । जनताको जीउ धनदेखि जीवीकोपार्जनको सबाल समेत जोडिएको यस समस्याको शिघ्र समाधानको आवश्यकता छ ।

दसकौंदेखि यो मुद्दा उठ्ने गरेको भए पनि त्यसलाई निर्वाचनका समयमा चुनावी प्रतिबध्दतामा समेट्ने बाहेक अरु काम हुन नसकेका कारण जनतामाथि साह्रै सकस परिरहेको छ । यो समस्यालाई यस्तै छोडि राख्ने हो भने भविष्यमा अर्को अप्रिय घटना नहोला भन्न सकिन्न । तसर्थ यसलाई चाँडो समाधान गर्नेतिर ध्यान दिनु पर्ने आवश्यकता छ ।