उत्तम आचार्य
कन्चनरुप , २२ जेठ ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ३, नयाँ बस्ती छेउमा बिहिवार राती जंगली हात्तीको एउटा ठूलो हूल पसेर बितण्डा मच्याएको छ । स्थानीय किसानको करिब १ बिघा क्षेत्रफलमा लगाइएको पाक्न लागेको मकै खेती हात्तीले कुल्चिएर पूर्ण रूपमा नष्ट गरेको हो ।
वर्षभरि दुःख गरेर उब्जाएको बाली भित्र्याउने बेलामा यसरी क्षणभरमै सखाप भएपछि किसानहरू ठूलो आर्थिक संकट र गहिरो निराशामा परेका छन्।
यस क्षेत्रमा बर्सेनि हुलका हुल जंगली हात्ती छिरेर धनजनको ठूलो क्षति पुर्याउने गरेको स्थानीयले बताए ।
पीडित किसान दुर्गा प्रसाद फुयालका अनुसार सम्बन्धित सरोकारवाला निकायले समयमै ध्यान नदिँदा र उचित कदम नचाल्दा अहिले किसानहरूका अगाडि जीविकोपार्जनकै ठूलो चुनौती थपिएको छ। स्थानीय बासिन्दा रमेश थापाका अनुसार हात्तीको आतंकका कारण स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् र कुन बेला कसको ज्यान जाने हो भन्ने डरले सिङ्गो बस्ती नै त्रसित बनेको छ।
भयावह स्थितिलाई मध्यनजर गर्दै हामी सम्बन्धित स्थानीय सरकार, वन कार्यालय, वन्यजन्तु संरक्षण निकाय तथा सरोकारवाला सबैसँग निम्नलिखित मागहरू जोडदार रूपमा उठाएका छन् ।
तत्काल राहत र क्षतिपूर्ति: पीडित किसान दुर्गा प्रसाद फुयालले नष्ट भएको मकै खेतीको स्थलगत अनुगमन गरी उचित र वैज्ञानिक क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।
दीर्घकालीन वन्यजन्तु नियन्त्रण: यस क्षेत्रमा बर्सेनि हुने हात्तीको आक्रमण रोक्नका लागि आधुनिक तारबार (इलेक्ट्रिक फेन्सिङ), साइरन, वा अन्य प्रभावकारी प्रविधिको प्रयोग गरी दीर्घकालीन नियन्त्रणको पहल गर्न उनले माग गरे ।
सुरक्षा र गस्तीको व्यवस्था: स्थानीय बासिन्दाको जिउज्यानको रक्षाका लागि रातको समयमा वन रक्षक तथा सुरक्षाकर्मीहरूको गस्ती बढाउने व्यवस्था तथा
अन्नदाता किसानको यो आर्थिक संकट र नागरिकको बाँच्न पाउने अधिकारप्रति सम्बन्धित निकायले अविलम्ब ध्यान दिई ठोस कदम चाल्न स्थानीयले माग गरेका छन् ।