तापक्रममा दैनिक जसो बृध्दि हुने क्रम जारी छ । दैनिक ज्यालामजदूरीबाट गुजारा चलाउने श्रमजीवी वर्ग यसबाट सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । उनीहरु जस्तै विद्यालयमा अध्ययनरत बालवालिकामाथि पनि गर्मीको पीडा अत्यधिक छ । कतिपय विद्यालयमा त गर्मीका कारणले कक्षाकोठामै विद्यार्थी बेहोस हुन थालेका छन् । एउटै कक्षा कोठामा दर्जनौ विद्यार्थी कोचिएर बस्नु पर्ने कारणले नै गर्मीको प्रभाव अत्यधिक रहेको मान्न सकिन्छ ।
सप्तरीमा त कतिपय विद्यालयका कक्षाकोठामा अहिलेसम्म पनि पंखाको व्यवस्था नरहनाले विद्यार्थीलाई अति नै सकस परिरहेको छ । विद्यालयमा पंखा,खानेपानी लगायतको व्यवस्था गर्नकालागि स्थानीय पालिकाले ध्यान दिनु पर्ने हो । पालिकाका जनप्रतिनिधिले आफ्नो सुबिधामा लाखौं खर्च गर्दै आएका भए पनि वालवालिकाले कक्षा कोठामा भोग्नु परेको कष्टपूर्ण अवस्था प्रति चासो नलिनुले उनीहरु जनताका समस्या प्रति उदासीन रहेको अर्थ लाग्न सक्दछ । विभिन्न नाउँमा करोडौंको बजेट खन्याउन सकिन्छ भने केही थान पंखा र पिउने पानीको व्यवस्था विद्यालयमा गर्न किन सकिँदैन ? जनताले जनप्रतिनिधिमाथि उठाउने गरेको प्रश्न हो यो । यसका बाबजुद पनि गर्मी मत्थर हुने लक्षण देखिएन बरु अझै बढ्न थाल्यो भने बालवालिकाको स्वास्थ्य रक्षालाई ध्यानमा राख्दै केही दिनकालागि विद्यालयको पठनपाठन रोकेर छुट्टी दिनु नै उपयुक्त हुनेछ । गर्मी सधैं यस्तै रहँदैन ।
तसर्थ अहिले विदा दिएर रोकिएको पठनपाठनलाई अवस्था सामान्य हुन थालेपछि कक्षा सुरु गरी अतिरिक्त समय दिएर पनि कोर्ष पूरा गर्न नसकिने होईन । पालिका तथा विद्यालय प्रशासनले यस तर्फ पनि सोच्न आवश्यक छ ।