• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
निमावि छपकीका शिक्षक यादवको भव्य विदाई

राजविराज, २४ माघ । सप्तरीको जमुनी मधेपुरा गाविस–८ स्थित निम्न माध्यमिक विद्यालय छपकी भथौलका सेवा निवृत शिक्षक जगदीश प्रसाद हजरा यादवलाई आइतवार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
निमावि छपकी भथौलबाटै २०४४ साल भदौ ९ गते प्राथमिक शिक्षकको रुपमा पेशा प्रारम्भ गरेका उनी उमेरको हदले सेवा निवृत भएका हुन् । विद्यालयमा २८ वर्ष ५ महिना ५ दिन सेवा गरेका ६० वर्षिय यादवलाई विद्यालयमै विदाई समारोहको आयोजना गरि रेडियो, डायरी, कलमका साथै दोसल्ला ओढाएर विदाई गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण यादवको अध्यक्षतामा आयोजित विदाई समारोहमा गाविसका पूर्व अध्यक्ष नेवालाल यादव, व्यवस्थापन समितिका सदस्यहरु भुवनेश्वर ईशर, राजकुमार विश्वास, करियाही देवी साह, समाजसेवी मखन साह, नारायण ईशरलगायतले शिक्षक यादवले गाविसमा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको सराहना गरे । सोही कार्यक्रममा विद्यार्थीहरुले समेत उनलाई विभिन्न उपहार दिँदै गहभरी आँसु पार्दै विदाई गरे ।
सप्तरीको दिघवा गाविस वडा नम्बर–८ मा बि.स. २०१२ साल माघ १४ गते जन्मिएका यादव राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट २०२६ सालमा एसएलसी उतीर्ण गरी शिक्षण पेशामा प्रवेश गरेका थिए । एसएलसी उतीर्णपछि यादव केही समय गाउँदेखि जिल्ला स्तरीय राजनीति र समाजसेवामा सक्रिय समेत सक्रिय रहँदैआएका छन् ।
राजविराजस्थित विन्देश्वरी बहुमुखी क्याम्पसमा आइए अध्ययनरत रहँदा शिक्षक यादव घरायसी समस्याका कारण बिचमै पढाई छाड्न बाध्य भएका थिए । शिक्षण पेशाकै अवधिमा उनले १० महिने शिक्षण तालिम समेत लिएका थिए । शिक्षक यादवले बाँकी जिवन समाजसेवामै बिताउने प्रतिवद्धता गर्दै एउटै विद्यालयमा रहेर काम गर्दा समुदाय एवम् सहकर्मीहरुको सहयोग अविस्मरणीय रहने बताए ।