राजविराज, १८ माघ । मधेशी मोर्चाको अवरोधका कारण सप्तरीको राजविराज नगरपालिकामा आयोजित नेपाली काँग्रेसको नगर अधिवेशन सोमवार स्थगित भएको छ ।
स्थानीय केशो अनिरुद्धवती माध्यमिक विद्यालयमा आयोजित नगर अधिवेशन बिथोल्न मोर्चाका कार्यकर्ताहरुले प्रयास गरेका थिए । सोही क्रममा मोर्चा र नेपाली काँग्रेसका युवा कार्यकर्ताहरु बीच झडप भएको थियो । मोर्चाले निर्वाचन प्रक्रियाका लागि तयार गरिएको ब्यालेट समेत नियन्त्रणमा लिएका छन् । झडपमा युवा विद्यार्थी मोर्चाका सप्तरी संयोजक तारकेश्वर यादव घाइते भएका छन् ।
मोर्चाको अवरोधका कारण नगर समितिको निर्वाचन प्रक्रिया मङ्गलवार विहान पुनः सञ्चालन हुने निर्वाचन अधिकृत शैलेन्द्र कुमार मण्डलले जानकारी दिए ।